आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापमा भएको पूर्वतयारीका सम्बन्धमा इन्सेकले ०८२ फागुन १६ गते अनुगमन गरेको छ ।
इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र नागरिक समाजका अगुवासँग भेटघाट गरीएको थियो ।

मुख्य निर्वाचन अधिकृत एवम् रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जिल्लाका ९६ मतदानस्थल अन्तर्गतका २ सय २८ स्थायी र दुई अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरू खटाइसकिएको जानकारी दिनुभयो । उहाले कुल १३७४ कर्मचारी खटाइएकोमा चार सय ४९ जना महिला रहेको र ३७ जना महिला मतदान अधिकृत रहेको बताउनु भयो ।

खटाइएका कर्मचारीहरू ०८२ फागुन १७ गते देखि सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाइएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले सर्वदलीय बैठक राखी दलहरुलाई प्रभावकारी अभिमुखिकरण दिइएका कारण गम्भिर खालका आचारसंहिता उल्लंघनका घटनाहरु नभएको बताउनु भयो ।
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नभएको, मतदान केन्द्रहरुलाई अपांगता, महिला र जेष्ठनागरिक मैत्री बनाउन सक्दो प्रयास गरिएको साथै मतगणना सम्मका लागी आवश्यक तयारी भइरहेको बताउनु भयो ।
जिल्ला सुरक्षा समितिका प्रमुख एव्म प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निर्वाचनका लागि आवश्यक सबै सुरक्षा तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार ४१ मतदानस्थललाई अति संवेदनशील, ३५ लाई संवेदनशील र २० मतदानस्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । ती मतदानस्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई आवश्यकताअनुसार परिचालन गरिएको उहाँले बताउनुभयो ।
रामेछापका प्रहरी प्रमुख डीएसपी भोला कुमार भट्टले संवेदनशीलताको आधारमा ८ ओटै स्थानीय तहमा सुरक्षा रणनीति अनुसार कार्यसम्पादन भइरहेको, मतदानस्थल वरपरका युनिटहरूमा प्रहरी पुगिसकेको र फागुन १७ गतेदेखि मतदानस्थलमै खटिएर सुरक्षामा परिचालन हुने व्यवस्था मिलाइएको बताउनु भयो ।
अनुगमन टोलीले भेटघाटका क्रममा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिएको इन्सेक बागमती प्रदेशका संयोजक शिव प्रसाद खकुरेलले बताउनु भयो । जिल्लास्थित सरोकारवाला निकायहरूले समेत समन्वयात्मक ढंगले तयारी अघि बढाइएको जानकारी गराएका छन् ।
