खाँडाचक्र नपा–१ मान्मका २१ वर्षीया पुष्पा शाहीलाई २५ वर्षीय पति मिनराज शाहीले कुटपिट गरी घर निकाला गरेको घटनामा इन्सेकको पहलमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
पतिले बहुविवाह गरेपछि आफूलाई घरमा बस्ने अधिकार छैन भन्दै अपमान गर्नुको साथै लठ्ठी र मुक्काले कुटपिट गरी घाइते बनाएको भन्दै फागुन ५ गते कानुनी सहयोगका लागि पीडितले इन्सेकसमक्ष अनुरोध गरेकी थिइन् ।
पीडित पक्षको अनुरोध अनुसार इन्सेकको पहलमा फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
आरोपितले ०७४ मङ्सिर १५ गते सोही नपा–२ की १८ वर्षीया सुना शाहीसँग बहुविवाह गरेपछि सधैँजसो कुटपिट गर्ने गरेको र पछिल्लो समयमा घर निकाला गरेपछि उजुरी दिन जिल्ला प्रहरी कार्यालय आएको पीडितले बताएकी छन् ।
पीडितले जिल्ला अस्पताल कालिकोटमा उपचार गराएको र आरोपितलाई उचित कारवाहीको माग गर्दै उक्त निवेदन दिएको बताएकी छन् ।
पतिले कुटपिट गरी घर निकाला गरेपछि आफूसँग रहेको एक वर्षको नाबालक छोरासमेत विस्थापित भएको पीडितले बताएकी छन् । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ताका लागि इन्सेकले पहल गरेको थियो ।