INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को संयुक्त आयोजनामा ०८२ फागुन ८ गते इन्सेक केन्द्रीय कार्यालयमा निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेकका अध्यक्ष विजयराज गौतमले वि.सं. ०४८ सालदेखि इन्सेकले पर्यवेक्षण गर्दै आएको स्मरण गर्दै फागुन २१ गते सम्पन्न हुन लागेको निर्वाचन पर्यवेक्षणका लागि दुई जिल्ला बाहेक ७५ ओटै जिल्लामा रहेका प्रतिनिधिमार्फत पर्यवेक्षण गर्ने बताउनु भयो ।

अध्यक्ष गौतमले इन्सेकले मतदान अघि, मतदानका दिन र मतदान पछि पनि पर्यवेक्षण गर्ने र मतदानका दिन संक्षिप्त प्रतिवेदन निर्वाचन आयोगलाई पेश गर्ने जानकारी दिनुभयो ।

निर्वाचन आयोगका कानून अधिकृत मोहनराज जोशीले निर्वाचन पर्यवेक्षणका लागि निर्वाचन आचार संहिता महत्वपूर्ण हुने उल्लेख गर्दै निर्वाचन निर्देशिका ०७९ को दफा २६ मा पर्यवेक्षण संस्था र दफा २७ मा पर्यवेक्षकले पर्यवेक्षण गर्ने सम्बन्धमा उल्लेख भएको स्मरण गर्दै पर्यवेक्षकहरुले खटाइएको स्थानमा पर्यवेक्षण गर्नु पर्ने र निर्वाचन आयोगले परिचयपत्र उपलब्ध गराइ सवारी पास अनुमती लिएर मात्र माघ २० गते जारी कार्यविधिअनुसार प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सवारी चलाउनुपर्ने जानकारी दिनुभयो ।

कानून अधिकृत जोशीले मतदान अधिकृतको अनुमती लिएर मात्र मतदान केन्द्र र मत गणना स्थलमा प्रवेश गर्न र मतदाताहरुलाई मतदान स्थलमा प्रवेश गर्न अवरोध भएमा तत्काल निर्वाचन आयोगलाई जानकारी दिन आग्रह गर्नुभयो ।

उहाँले आयोगले निर्वाचन पर्यवेक्षकले पालना गर्नु पर्ने आचार संहिता सम्बन्धमा सरकारी वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेद्ववारको पक्ष/विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने बताउनु भयो । पर्यवेक्षकले उम्मेद्वार वा दलहरुको पक्ष वा विपक्षमा टिका टिप्पणी गर्न नहुनेमा जोड दिनुभयो।

निर्वाचन आयोगले केन्द्रीय आचारसंहिता अनुगमन समिति, विषयगत उपसमितिहरु, निर्वाचन आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिलगायत जिल्ला तहबाट समेत अनुगमन हुने उल्लेख गर्दै ०८२ फागुन ७ गतेसम्म ७० वटा स्पष्टिकरण सोधेको र पत्राचार गरेकोमा ४३ वटा स्पष्टिकरण र जवाफ प्राप्त भएको जानकारी दिएको छ ।

कार्यक्रममा इन्सेकका निर्देशक भार्गब काफ्लेले मतदानस्थलमा कुनै द्विविधा पर्दा पर्यवेक्षकलाई साक्षीमा दस्तखत गराउने गरेको विषयमा राखेको जिज्ञासामा कानून अधिकृत जोशीले त्यसो नगर्न सुझाव दिनुभयो ।

इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले यस वर्षको निर्वाचन आवधिक नभइ विशेष अवस्थामा हुन लागेकोले निर्वाचनको निष्पक्षताका लागि पर्यवेक्षकहरुले जिम्मेवार र जवाफदेही भएर भूमिका खेल्नु पर्ने बताउनु भयो ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेल, लुम्बिनी प्रदेश संयोजक भोला महत, सुदूर पश्चिम प्रदेश प्रलेख अधिकृत कृष्ण बि.क.लगायतले सामाजिक सञ्जालमा नाम पहिचान गर्न नसक्ने व्यक्तिले गरेका आचारसंहिता विपरितका पोष्टहरुको विषय, उम्मेद्ववारले निर्वाचन अवधिका लागि बैंक खाता खोलेर कारोबार गर्नु पर्ने, निर्वाचन आयोगले तोकेको जरिवाना नतिन उम्मेद्धवारहरुलाई हुने कारवाहीका सम्बन्धमा जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रममा बालबालिका शान्ति क्षेत्र अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचनमा बालबालिकाको प्रयोग भएको विषयमा निर्वाचन आयोगले दलहरु र उम्मेद्ववारहरुलाई त्यसो नगर्न र प्राप्त उजुरीमा कारवाहीका अघि बढाउन अनुरोध गर्नुभयो।

उहाँले निर्वाचनमा बालबालिकाको प्रयोग हुँदा उनीहरु जोखिममा पर्ने हुनाले यस विषयमा विशेष ध्यान पुर्‍याउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा भौतिक उपस्थिति र अनलाइन माध्यमबाट ४१ जना पर्यवेक्षकहरुले सहभागिता जनाएको इन्सेकका निर्देशक मदन पौडेलले जानकारी दिनु भयो ।

उक्त कार्याक्रममा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्नका लागि निर्वाचन पर्यवेक्षण महत्वपूर्ण हुने विषयमा जोड दिइएको छ ।   

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो