INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तरजातीय विवाहपछि हिंसामा परेकी महिलालाई न्यायका लागि इन्सेकको पहल

अन्तरजातीय विवाह गरेका कारण घर निकाला गरिएकी कुमाख गाउँपालिका–६ च्याउखोला निवासी २० वर्षीया एलीसा बिकलाई इन्सेकले न्यायका लागि पहल गरेको छ ।

एलीसाले ०७३ सालमा २२ वर्षीय टिकाराम रावतसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । विवाह भएको केही महिनापछि घर परिवार र पतिले समेत हेला गर्दै आएको उनले पीडा पोखिन् ।

पति र ५४ वर्षीय ससुरा भागीराम रावतले तल्लो जातकी भएको भन्दै घरमा बस्न पाइदैन भनी माघ २९ गते कुटपिट गरी घरनिकाला गरेको उनले बताइन् ।

काखमा डेढ वर्षको छोरी लिएर उनी न्याय खोज्दै फागुन २ गते सल्यानको सदरमुकाम खलङ्गा आएकी थिइन ।

घरमा बस्ने वातावरण नभएपछि सदरमुकाम आएकी उनले इन्सेकको पहलमा फागनु २ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा घरेलु हिंसाको निवेदनसमेत दिएकी छन् ।

जाजरकोट माइती भएकी उनले अहिले त्यहाँ जान सम्भव नभएको र घर परिवारमा बस्न नदिएपछि बास बस्न अप्ठेरो परेको बताइन् ।

यस विषयमा इन्सेकले पीडित महिलाको बास बस्ने स्थान पनि नभएको र साथमा पैसा पनि नभएको बताएपछि रेस सल्यानले सञ्चालन गरेको सेफ हाउसमा बस्ने व्यवस्था मिलाइएको छ ।

मुद्दा नटुङ्गिदासम्म पीडितलाई बास बस्ने खाँचो रहेको थाहा पाएपछि सेफ हाउसका सञ्चालक रामचन्द्र रेग्मीसँग कुरा गरेपछि पीडितलाइ बासस्थानको व्यवस्था मिलाइएको हो ।

अन्य

भिडियो