INSEC Online

📅 २०८३ जेष्ठ २१

सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

आफूहरुलाई सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका छन् । उनीहरूले फागुन ५ गते जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर नाराबाजी गरेका हुन् । उनीहरु पहिले भनिएको भन्दा कम तलब दिन लागिएको भन्ने खबर सुनेपछि असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

फागुनमा २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८ सय ६९.४० रुपियाँका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ रुपियाँ पाउँछन् । उनीहरूले मतदान दिनको अघिपछि गरेर चार दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ३ सय रुपियाँका दरले एकमुष्ट १ हजार २ सय रुपियाँ खाजा खर्च समेत पाउँछन् । हिमाली क्षेत्रका निर्वाचन प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही रकम बढी पाउने गर्दछन् । फरक सुविधाका कारण हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५ सय ७० रुपियाँ हुन्छ भने पहाडी क्षेत्रमा ७ हजार ९ सय ४५ रुपियाँ र तराई क्षेत्रमा ६ हजार १ सय ७० रुपियाँ पाउँछन् ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नियम अनुसार नै उनीहरूले सेवा सुविधा पाउने बताउनु भयो । निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरेपछि वार्ता भइरहेको बताउनु भयो ।

नन्द सिंह

अन्य

भिडियो