आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा हिमपात भए प्रभावित हुन सक्ने मतदानस्थलहरूको विवरण निर्वाचन आयोगलाई बुझाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सूचना योजना–२०८२ अन्तर्गत हुम्ला समितिको बैठकले सम्भावित जोखिम क्षेत्र पहिचान गरी आयोगलाई औपचारिक रूपमा पत्राचार गरेको हो ।
हुम्लामा वैशाख महिनासम्म हिमपात हुने सम्भावना रहने र हिउँ पर्ने समय अझै बाँकी रहेकाले समितिले दुई गाउँपालिकाका १६ मतदानस्थललाई हिमपातबाट प्रभावित हुन सक्ने सूचीमा राखेको छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार चंखेली गाउँपालिकाको चार र नाम्खा गाउँपालिकाका १२ ओटा मतदानस्थल जोखिममा पर्ने निष्कर्ष बैठकले निकालेको छ ।
बैठकले निर्वाचनको केही दिन अघिदेखि मतदान अवधिसम्म हिमपात भए ती स्थानमा मतदान कार्य सञ्चालन गर्न कठिन हुने आँकलन गर्दै पूर्व जानकारी स्वरूप आयोगलाई विवरण पठाएको छ । हिमपात नभए पनि नाम्खा गाउँपालिकाका आठओटा मतदानस्थलमा यातायात अवरोधका कारण समस्या देखिन सक्ने समितिले जनाएको छ । हिउँका कारण बाटो अवरुद्ध हुने र मतपेटिका ढुवानीका लागि हेलिकोप्टरको आवश्यकता पर्न सक्ने बताइएको छ ।
समितिका अनुसार नाम्खा गाउँपालिकामा हिमपातबाट प्रभावित हुन सक्ने मतदानस्थलहरूमा बुद्ध आधारभूत विद्यालय हेक्पा, नाम्खा ख्योङजोङ प्राथमिक विद्यालय धिंगा, तातोपानी प्राथमिक विद्यालय केर्मी, मोतिराम प्राथमिक विद्यालय खगालगाउँ, नमोडोछोमु आधारभूत विद्यालय ताङ्गिन, महाबौद्ध माध्यामिक विद्यालय याल्वाङ, हिमालय प्राथमिक विद्यालय चाला, खासरपानी प्राथमिक विद्यालय मुचु, अरनिको प्राथमिक विद्यालय यारी, सुनखानी प्राथमिक विद्यालय हल्जी, भृकुटी प्राथमिक विद्यालय जाङ र हिमशिखर प्राथमिक विद्यालय तिल रहेका छन् ।
यस्तै, चंखेली गाउँपालिकामा चंखेली आधारभूत विद्यालय बोहरावाडा, महेन्द्र प्राथमिक विद्यालय मिमी, रारा आधारभूत विद्यालय मेखाला र डाँफे आधारभूत विद्यालय नेप्का मतदानस्थल हिमपात भए प्रभावित हुन सक्ने सूचीमा परेका छन् । मतदानको समयमा हिमपात भए ती केन्द्रबाट मतपेटिका ढुवानीमा समेत समस्या आउन सक्ने समितिले जनाएको छ ।