INSEC Online

📅 २०८३ जेष्ठ २१

धादिङमा आचारसंहिता विपरित बाजागाजासहितको र्‍याली र रातभर डोजरको प्रयोगबाट सडक मर्मत 

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको आचार संहिता विपरित राजनीतिक दल र उम्मेदवारले धादिङमा गतिविधि र र्‍याली गरिरहेका छन् ।

आचार संहिता अनुसार उम्मेदवारले कार्यालय भन्दा बाहिर प्रचारप्रसार गर्दा फ्लेक्स राख्न पाइँदैन तर गल्छी गाउँपालिका वडा नम्बर ५ मा आचार संहिता विपरित उम्मेदवार आशिका तामाङलाई जिताउँ भन्दै फ्लेक्स राखिएको छ ।

बाजागाजा सहित घरदैलो कार्यक्रम गर्न नपाइने आचार संहितामा व्यवस्था भए पनि उम्मेदवार नन्दप्रसाद काप्रीले आचारसंहिता विपरित घरदैलो कार्यक्रममा ०८२ फागुन ४ गते पञ्चेबाजा बजाएर धादिङबेसी बजार परिक्रमा गरे । निर्वाचन आचार संहिताले हाल कायम रहेका जनप्रतिनिधिहरुलाई उम्मेदवारको प्रचारप्रसार गर्न नहुने भनिए पनि प्रदेशसभा सदस्य शालिकराम जम्मरकट्टेल, गाउँपालिका तथा नगरपालिका प्रमुख उपप्रमुख र वडाअध्यक्षहरु निर्वाचन प्रचारप्रसारमा लागेको पाइएको छ ।

 ब्याच, स्टिकर प्रयोग नपाइने भएपनि उम्मेदवार राजेन्द्र पाण्डे, आशिका तामाङ, रामबहादुर भण्डारी, बोधनारायण श्रेष्ठको चुनाव प्रचारप्रसारमा ब्याच, स्टिकर र चुनावचिन्ह अंकित टोपी लगाएर प्रचारप्रसार हिँडिरहेको पाइएको छ । रंगिन पोष्टर उत्पादन गर्न टाँस्न नपाइने भनेर आचारसंहितामा स्पष्ट उल्लेख छ तर उम्मेदवार रामबहादुर भण्डारीको पोष्टर बनाएर बजारमा टाँसिएको पाइएको छ । ७० ग्रामको पेपरमामात्र एक रङमा उत्पादन गर्नु पर्ने व्यवस्थाभएको पर्चा ब्रोसर त्यो भन्दा धेरै बाक्लो र रंगित पेपरमा उत्पादन गरेर बजारमा उम्मेदवार नन्दनप्रसाद काप्रीले घरदैलो कार्यक्रममा वितरण गरिरहनु भएको पाइएको छ ।

आचार संहिताले मतदाता प्रभावित पार्नका लागि सडक निर्माण लगायतका विकासका कार्यक्रम गर्न नपाइने स्पष्ट व्यवस्था भएपनि नीलकण्ठ नगरपालिका–१२ को आँगेटारी–फालेभञ्ज्याङ हुँदै मौवाटार जाने सडक ०८२ फागुन ३ गते बेलुका ७ बजेबाट फागुन ५ गते बिहान ७ बजेसम्म डोजरको प्रयोग गरि रातभर खनिएको छ । जिल्ला आचार संहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले आचारसंहिता विपरितका कार्य भइरहेको सूचना प्राप्त भएपछि उम्मेदवारलाई सम्झाउने, आचार संहिता विपरितका प्रचार सामाग्री हटाउने र आचारसंहिता कार्यान्वयन गराउन लागि पहल गरेको बताउँदै आचार संहिता विपरितका गतिविधि भएमा उजुरी गर्न समेत सम्पूर्ण नागरिकलाई आग्रह गर्नुभएको छ ।

सीताराम अधिकारी

अन्य

भिडियो