INSEC Online

📅 २०८३ जेष्ठ २१

झुम्का कारागारबाट भागेका आठ जना गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

संखुवासभा, खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट गिरफ्तार गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेको अवस्थामा राई ०८२ भदौ २४ गते कारागारबाट भागेका थिए ।

त्यस्तै चौविसे गाउँपालिका–३ का ३४ वर्षीय सिजन तामाङलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । अङ्गभङ्ग मुद्दामा ३० महिना कैद र २५ हजार रुपियाँ जरिवाना तोकिएका उनी कारागारबाट भागेका थिए ।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि गाउँपालिका–७ का संगम माझी र साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट गिरफ्तार गरेको हो ।

कर्तव्य ज्यान तथा चोरी मुद्दामा २० वर्ष कैद र १ लाख रुपियाँ जरिवाना तोकिएका चौविसे गाउँपालिका–२ धारापानीका ४६ वर्षीय रमेश माङ्मी मगर तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरी धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको

जिल्ला प्रहरी कार्यालय, धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

गिरफ्तारीमा परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी कारागार बुझाइएको एसपी थापा क्षेत्रीले बताउनु भएको छ ।

ईश्वर थापा

अन्य

भिडियो