INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा खानेपानीको समस्या, संरचना अभावमा अगरवत्ती र मैन उत्पादन बन्द

जिल्ला कारगारमा खानेपानीको समस्या रहेको छ । जीर्ण अवस्थामा रहेको कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी त्यसमाथि माथि खानेपानी सङ्कट थपिएपछि समस्या भएको छ ।

तम्घासमा खानेपानीको समस्या सबैतिर भएपनि कारागार जस्तो संवेदनशील क्षेत्रमा पनि खानेपानीको समस्या भएपछि कैदीबन्दीलाई मुस्किल परेको छ ।

२५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले दुई बालबालिकासहित पाँच महिला र ६२ जना पुरुष गरी ७९ जना रहेका छन् ।

दैनिक खाना पकाउन, पिउन, नुहाउन तथा लुगा धुन पानीको आवश्यकता पर्छ । तर, एउटा मुलबाट जिल्ला कारागार, जिल्ला अस्पताल तम्घास र नेकपाको पार्टी कार्यालयमा खानेपानी आउने गरेको जिल्ला कारागार प्रमुख उद्धव पन्थीले बताए ।

अस्पताल र कारागार दुबै अति संवेदनशिल क्षेत्र र पानी बढी खपत हुने भएकाले खानेपानीको अभाव देखिने गरेको पन्थीले बताए ।

यसैगरी कैदी बन्दीहरुलाई समेत बस्न समस्या रहेको कारगारमा ठाउँ अभावमा अगरवत्ती र मैनवत्ती उत्पादन बन्द भएको छ ।

गुल्मी कारागारलाई कारखाना भन्दा पनि फरक पर्दैन । अझ मुढाको लागि त कारगार प्रख्यात छ । यहाँ उत्पादन भएका मुढा जिल्लाका विभिन्न स्थान र जिल्ला बाहिर निर्यात गरिन्छन् ।

जसबाट कैदीबन्दीहरूले आयआर्जन गर्ने गर्दछन् । यसैगरी मैनवत्ती र अगरवत्ती उत्पादन गरी आय आर्जन गर्दै आएका कैदीबन्दीहरुले भवन अभाव भएका कारण उत्पादन बन्द भएको कारागार चौकीदार दिपक गिरीले बताए ।

यसैगरी कैदीबन्दीले आपूmहरूले पाउँदै आएको सिदा र चामल अत्यन्तै न्यून रहेको गुनासो गरेका छन् । कैदीबन्दीले दैनिक सिदाबापत खर्च ४५ रुपियाँ र ७ सय ग्राम चामल पाउँदै आएका छन् ।

वर्षौँ पुरानो सिदा–चामलको सुविधा न्यून हुँदा कैदीबन्दीलाई इन्धन, दाल, तरकारीलगायत व्यवस्थापन गर्न निकै मुस्किल परेको कारागार नाइके दिपक गिरीले बताए ।

‘कैदीबन्दीका लागि १०-१२ वर्ष पुरानो सेवा सुविधा छ । महङ्गीले नेटो काटिसक्यो ।’–उनले भने । बजार मुल्य अनुसार सुविधा बढाउनु पर्ने उनीहरूको भनाई रहेको छ ।

अन्य

भिडियो