कालाजारका बिरामी छिन्नमस्ता गाउँपालिका–७ हाटीका ३५ वर्षीय मधुराम सदाले औषधि अभावका कारण उपचार गर्न पाएका छैनन् ।
सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने लक्ष्यका साथ सरकारले निःशुल्क उपचारको घोषणा गरेपनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विशेष जाँच र आवश्यक औषधिको अभावका कारण सदाको उपचार हुन नसकेको हो ।
कुष्ठरोगको शङ्का लागेर उपचारका लागि धनुषाको लालगढ अस्पताल गएका उनको शरीरका गिर्खाहरू चेकजाँच गर्दै लालगढ अस्पतालले कालाजार भएको भन्दै फर्काएपछि उपचारका लागि माघ २१ गते राजविराजस्थित अस्पताल पुगेका थिए ।
आवश्यक चेकजाँच गर्दा उनमा कालाजार भेटिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले समेत पुष्टि गरेका छन् ।
‘कालाजारले ग्रसित उनको शरीरका अधिकाँश भागमा गिर्खाहरू देखिएको छ ।’–अस्पतालका मेडिकल रेकर्डर एवम् हेल्थ असिस्टेन्ट रामकुमार दियालीले भने–‘कालाजारको अन्तिम अवस्थामा पुगेका सदालाई तत्कालै विशेष उपचारको आवश्यकता भएकाले प्रारम्भिक उपचार गरी रिफर गरेका छौँ ।’
आवश्यक औषधिको अभावमा अस्पतालले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेपनि आर्थिक अभावका कारण उनि उपचारविहीन भएर घरमै बसेका छन् ।
कालाजारको उपचार निःशुल्क हुने थाहा पाएर अञ्चल अस्पताल आएको तर अस्पतालमा साधनस्रोत र औषधि नै नरहेको थाहा पाएपछि घर फर्किएको सदाले बताए ।
सदा भन्दाअघि २०७२ वैशाख २२ गते बेल्ही चपेना–८ की २४ वर्षीया रीतादेवी राममा कालाजारको सङ्क्रमण देखिएको अस्पतालको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार ०६३ असार २५ देखि हालसम्म सप्तरीमा १ सय ५६ जना सङ्क्रमित फेला परेका छन् ।
चार वर्षयता कालाजारको रोगी फेला नपरेकाले औषधि मगाउन छाडिएको हुन सक्ने भन्दै अस्पताल प्रशासनले बिरामी फेला परेकाले औषधि मगाइएको भएपनि आइनपुगेको जानकारी दिएको छ ।