आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गण्डकी प्रदेशका १८ ओटा निर्वाचन क्षेत्रका १ हजार २ सय ९७ मतदानस्थलमध्ये ३ सय २८ ओटालाई अति संवेदनशील सूचीमा राखिएको र यी केन्द्रहरुमा विशेष सुरक्षा व्यवस्था गरिने गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरी सुरक्षाकर्मी परिचालन गर्ने छ । प्रहरी तथ्याङ्ककअनुसार गोरखा जिल्ला सबैभन्दा चुनौतीपूर्ण देखिएको छ । भौगोलिक रूपमा विकट गोरखामा दुई निर्वाचन क्षेत्र छन् । ती दुई क्षेत्रमा रहेका २ सय २५ मतदानस्थलमध्ये ८३ ओटा अतिसंवेदनशील, १ सय ३१ संवेदनशील र ११ ओटा सामान्य छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेका मुस्ताङ र मनाङ तुलनात्मक रूपमा कम जोखिमपूर्ण देखिएका छन् । सूचना अधिकारी तुलबहादुर कार्कीका अनुसार मुस्ताङका ३९ मतदानस्थलमध्ये कुनै पनि अतिसंवेदनशील छैनन् । मुस्ताङमा १० संवेदनशील र २९ सामान्य स्थल छन् । मनाङमा भने २८ मतदानस्थलमध्ये पाँच अति संवेदनशील, १५ संवेदनशील र आठ सामान्य रहेका छन् ।
लमजुङमा १ सय ३० मतदानस्थलमध्ये ३० अतिसंवेदनशील, ७७ संवेदनशील र २३ सामान्य छन् । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा १ सय ४४ मतदानस्थलमध्ये ८ अतिसंवेदनशील, ५२ संवेदनशील र ८४ सामान्य मतदानस्थल छन् । स्याङ्जामा १ सय ९९ मतदानस्थलमध्ये ५६ अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ सामान्य स्थल छन् । नवलपुरमा १ सय १४ मतदानस्थलमध्ये ११ अतिसंवेदनशील, ५० संवेदनशील र ५३ सामान्य स्थल छन् । म्याग्दीका ८२ मध्ये १५ अतिसंवेदनशील, ५९ संवेदनशील र आठ सामान्य स्थल छन् । बागलुङका १ सय ७ मध्ये २९ अतिसंवेदनशील, २५ संवेदनशील र ५३ सामान्य स्थल छन् । र पर्वतका ७६ मतदानस्थलमध्ये ३५ मतदानस्थललाई अतिसंवेदनशील, ३४ संवेदनशील र सात सामान्य स्थलको सूचीमा राखिएको छ ।
कास्कीमा ५६ मतदान स्थल ‘रेड जोन’
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार १ सय ५३ मतदान स्थलमध्ये ५६ वटा अतिसंवेदनशील छन् । तीन निर्वाचन क्षेत्रमध्ये कास्की क्षेत्र नम्बर ३ सबैभन्दा चुनौतीपूर्ण देखिएको छ । यस क्षेत्रमा ३० मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् । यहाँ १८ संवेदनशील र ११ सामान्य मतदानस्थल छन् । अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका केही दुर्गम वडामा विगतमा चुनावी प्रचारप्रसार र मतदानका क्रममा विवाद भएको प्रहरी तथ्याङ्क छ । भौगोलिक विकटता र तत्काल सुरक्षाकर्मी पुग्न कठिन हुने अवस्थाका कारण क्षेत्र नम्बर ३ लाई उच्च जोखिममा राखिएको हो ।
क्षेत्र नम्बर १ मा १९ अतिसंवेदनशील, २८ संवेदनशील र १४ सामान्य मतदान स्थल छन् । विगतमा यस क्षेत्रमा बम राखिएको हल्लाले मतदातालाई त्रसित बनाएको घटनासमेत भएका थिए । क्षेत्र नम्बर २ भने तुलनात्मक रूपमा कम जोखिमपूर्ण मानिएको छ । क्षेत्र नम्बर २ मा सात अतिसंवेदनशील, आठ संवेदनशील र १८ सामान्य मतदानस्थल छन् । समग्रमा कास्कीमा ५६ अतिसंवेदनशील, ५४ संवेदनशील र ४३ सामान्य मतदानस्थल पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जोखिम मूल्याङ्कनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेनाको परिचालन गरिनेछ । भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीले मतदाताको लाइन व्यवस्थापन गर्नेछन् । बीचको घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ भने बाहिरी घेरामा नेपाली सेनाले गस्ती गर्नेछ । मतदान केन्द्रमा मोबाइल गस्ती र रिजर्भ फोर्ससमेत परिचालन गरिनेछ । निर्वाचन अवधिमा मतदानलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन मुठभेड, बुथ कब्जा र मृतक वा विदेशिएका व्यक्तिको नाममा हुनसक्ने फर्जी मतदान कडाइका साथ रोक्ने कास्की प्रहरीले बताएको छ ।