INSEC Online

📅 २०८३ जेष्ठ २१

स्याङ्जामा ५६ मतदानस्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका १ सय ९९ मतदान स्थल मध्ये ५६ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील तोकेको छ । सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । स्याङ्जाका १ सय ९९ मतदानस्थलमध्ये सामान्य ७२ ओटा, संवेदनशील ७१ ओटा र अति संवेदनशील ५६ ओटा रहेका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ सय ९९ मतदानस्थलमा ३ सय २२ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनमा १ सय ९९ मतदानस्थल रहेको थियो, भने मतदान केन्द्र ३ सय २० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो ।

वि सं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई २ लाख ४८ हजार ८ सय १६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । स्याङ्जामा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता ३ हजार ८ सय ८७ जना धेरै रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८ सय ८६ मतदाता रहेका छन् । क्षेत्र नं.२ मा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन् ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो