प्रतिनिधिसभा सदस्यका लागि एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ हजार बढी अस्थायी मतदाता छन्
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ हजार ५ सय १९ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईले बताउनु भयो ।
मतदाता नामावलीमा नाम भएका अस्थायी मतदातामध्ये जिल्ला कारागारका १ सय ४५ जना कैदीबन्दी र बृद्धा आश्रममा रहेका २० जना ज्येष्ठ नागरिक रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईले बताउनु भयो ।
सर्वोच्च अदालतको आदेशपछि कैदीबन्दीको मतदाता गर्ने पाउने व्यवस्था भएको थियो ।
काठमाडौँ स्कुल अफ ल का विद्यार्थीहरु निशान्त पोखरेल र प्रदिक्षा केसीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा ०७९ असार १३ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीलाई पनि मतदान गर्न पाउने गरी व्यवस्था गर्न आदेश दिएको थियो ।
अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी, कारागारका थुनुवा र निर्वाचन कार्यमा खटिएका कर्मचारी समावेश हुनेछन् ।
अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहने निर्वाचन कार्यालयले जनाएको छ ।
व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको जिल्लामा १ लाख १९ हजार ६ सय ३० मतदाता छन् । जिल्लामा १ सय ९ मतदानस्थल र १ सय ६४ मतदान केन्द्र तोकिएको छ ।