INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयभित्रै वडा कार्यालय, कक्षाकोठाको अभावमा पठनपाठन प्रभावित

लक्ष्मीया गाउँपालिका–१ सिनुरजोडास्थित श्री महादेव प्राथमिक विद्यालयमा कक्षाकोठाको अभावका कारण बालबालिकाको शिक्षा पाउने वातावरण प्रभावित बनेको छ । कक्षा ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा जम्मा चारवटा कक्षाकोठा मात्र रहेको छ । तीमध्ये वडा नं. १ वडा समितिको कार्यालयले एउटा कक्षाकोठा प्रयोगमा लिएपछि विद्यालयमा तीनवटा कक्षाकोठाभित्रै शैक्षिक क्रियाकलाप गर्नु पर्ने बाध्यता रहेको छ।

सो विधालयमा तीनजना शिक्षक कार्यरत रहेका छन् भने १ सय ८० जना विद्यार्थीमध्ये करिब १ सय जना मात्र नियमित रूपमा उपस्थित हुने गरेको विद्यालयकी प्रधानाध्यापक सुमित्रा यादवले बताइन्। यादवको अनुसार विद्यालयमा विगत ८ वर्षदेखि विद्यालय व्यवस्थापन समिति तथा अनुगमन समिति गठन हुन सकेको छैन । नियमित अभिभावक भेला नभएको र बालमैत्री तथा वातावरण न रहेको बताइन । साथै विधालयमा नजिकै तीनवटा इँट्टा भट्टा उद्योग सञ्चालनमा रहेकाले बालबालिकाको स्वास्थ्यमा समेत जोखिम बढेने चुनौति देखिएका प्रधानाध्यापक यादवको भनाई छ ।

कक्षा ५ मा अध्ययनरत १२ वर्षीया राधिका यादवले भनिन्, कक्षाकोठा सानो छ, सबै विद्यार्थी अट्दैनौँ। कहिलेकाहीँ उभिएर पढ्नुपर्छ।खशुद्ध पिउने पानीको समस्या, शौचालय पनि सफा नरहेको त्यस्तै कक्षा ४ का ११ वर्षीय सुरज मण्डलको गुनासो छ । कक्षा ३ की ९ वर्षीया संगीता पासवानले विद्यालयमा कक्षाकोठाको अभावका कारण पठनपाठनमा समस्या हुनुका साथै दिवाखाजा समेत नियमित रूपमा दिने ब्यवस्था नरहेको बताइन् ।

नेपालको संविधानले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा पाउने अधिकार सुनिश्चित गरेको छ। बालअधिकार सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्डअनुसार राज्यले बालबालिकाका लागि सुरक्षित, गुणस्तरीय र पहुँचयोग्य शैक्षिक वातावरण सुनिश्चित गर्नुपर्ने दायित्व रहे पनि यस विद्यालयप्रति स्थानीय सरकार मौन देखिएको स्थानीय युवा रोशन यादवले बताए ।

वडा नं. १ का वडा अध्यक्ष दिलिप यादवले कक्षाकोठा अभाव रहेको स्वीकार गरे। उनले वडाको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेकाले चाँडै वडा कार्यालय त्यहाँ सारेर सञ्चालन गरिने बताए। वडाध्यक्ष यादवका अनुसार विद्यालयको समस्या बारे जानकारी प्राप्त भएको छ र वडा कार्यालयले प्रयोग गरिरहेको कक्षाकोठाको विकल्प खोज्ने तथा आवश्यक समन्वय गरी विद्यालयको समस्या चाँडै समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।

 सन्तोष कुमार यादव

अन्य

भिडियो