ऐँसेलुखर्क गाउँपालिका र जन्तेढुङ्गा गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत नियमित रूपमा नबस्दा पोष्टमार्टम गर्ने प्रकृतिका घटनामा स्थानीयले पोष्टमार्टमका लागि ५० हजार रुपियाँभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।
ऐँसेलुखर्क स्वास्थ्य केन्द्र र जन्तेढुङ्गाको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने चिकित्सक नियमित रूपमा नबस्दा स्थानीयले ठूलो धनराशी खर्च गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याउनु पर्ने बाध्यता छ ।
ति दुई स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सक नियमित रूपमा नबस्दा स्थानीयले शव बोक्ने डोके तथा ट्याक्ट्रर रिजर्वका लागि पचास हजार रूपियाँ भाडा तिर्नु पर्ने बाध्यता रहेको जन्तेढुङ्गा गापा–१ का ४२ वर्षीय आइतमान राईले बताए ।
झुण्डिएर, विष सेवन, हत्या जस्ता घटनामा शवको पोष्टमार्टम गर्नुपर्दा स्थानीयले ठूलो धनराशी खर्च गर्नु परेको जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष शङ्कर राईले बताए ।
ऐँसेलुखर्क गाउाँलिकाले स्थानीय तहभित्रका पोष्टमार्टम गर्नुपर्ने प्रकृतिका शवलाई जिल्ला अस्पतालसम्म पुर्याउनका लागि आफन्तलाई १० हजार रुपियाँ दिने गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।
कार्यरत डाक्टर सरकारी कोटामा नाम निकालेर एमडी अध्ययनका लागि गएको र छात्रवृत्तिमा करारका रूपमा आएका डाक्टर कान्ति बाल अस्पतालमा सरुवा भएपछि गत असोजदेखि प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क डाक्टरविहीन रहेको गाउँपालिका प्रमुख निरौलाको भनाई छ ।
डाक्टर नहुँदा पोष्टमार्टम मात्र नभई अन्य उपचार सेवा समेत प्रभावित बनेको छ । डाक्टर चाहियो भन्दै जनताले घेर्ने गरेकाले डाक्टरका लागि तीन पटक मन्त्रालय पुगेको गाउँपालिका प्रमुख निरौलाले बताए । मन्त्रालयले पुसमा डाक्टर पठाइसक्यौँ भने पनि अहिलेसम्म सम्पर्कमा नआएको निरौलाको गुनासो छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पनि डाक्टर नियमित नहुँदा बराहपोखरी र खोटेहाङ गाउँलिकाका पोष्टमार्टम गर्नुपर्ने प्रकृतिका कतिपय शवलाई उदयपुर पुर्याउने गरिएको छ ।
स्वास्थ्य शाखाका संयोजक पवन पोखरेलले डाक्टर अभावकै कारण चिसापानीमा पोष्टमार्टम नरोकिएको बताए । उनले पोष्टमार्टमका लागि उदयपुर नजिक पर्ने भएकाले त्यतै रिफर गरिदिने गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीका अनुसार साउनयता खोटेहाङ र बराहपोखरी गाउँपालिका आसपासबाट १० ओटा शव पोष्टमार्टमका लागि उदयपुर पुर्याइएको छ ।
सो अवधिमा एेँसेलुखर्क गाउँपालिका क्षेत्रबाट तीन ओटा शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीको तथ्याङ्क छ ।