INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट चार जना विजयी

मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ को मत परिणाम अनुसार चार जना विजयी भएका छन् । उक्त निर्वाचनको महिला, अल्पसंख्यक, दलित तथा अन्य कलष्टर तर्फको मत परिणाम सार्वजनिक भएको आधारमा चार जना विजयी भएको मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरीले बताउनु भयो ।

महिला कलष्टरतर्फ नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत माक्सवादी लेनिनवादी) बाट रेखा झाले ७ हजार २ सय २२ मतभार प्राप्त गरी विजयी हुनु भयो भने झाको  प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी शमी कुमारी अग्रवालले १ हजार ९ सय ४४ मत तथा जनता समाजवादी पार्टी नेपालकी चन्द्रकला देवी साहले ३ सय २२ मतभार प्राप्त गर्नु भयो । यस कलष्टरमा ३ सय ५७ मत बदर भयो।

अल्पसंख्यक कलष्टरतर्फ नेपाली कांग्रेसबाट रंजित कर्णले ८ हजार ९३  मतभार प्राप्त गर्दै विजयी हुनु भयो । कर्णका प्रतिस्पर्धी रहनु भएका नेपाली कम्युनिष्ट पार्टीका  रामनन्दन प्रसाद नेपालले  १ हजार ३ सय ६१ मतभार प्राप्त गर्नु भयो भने जनता समाजवादी पार्टी नेपालका शैलेश कुमार चौधरीले २ सय ७७ मत प्राप्त गर्नुभएको छ । यस कलष्टरमा १ सय १४ मत बदर भयो ।

त्यसैगरी दलित कलष्टरतर्फ नेपाली कांग्रेसका धर्मेन्द्र पासवानले ७ हजार ९ सय ४ मतभार प्राप्त गरी प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादलाई पछि पार्दै विजयी हुनु भयो ।  रामनन्दन प्रसादले १ हजार ३ सय ७६ मतभार प्राप्त गर्नु भयो । जनता समाजवादी पार्टी नेपालकी चमेली देवी दासले २ सय ९ मतभार प्राप्त गर्नुभएको छ। यस कलष्टरमा १ सय ८६ मत बदर भएको छ।

यता अन्य कलष्टरतर्फ जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुरले ७ हजार ७ सय २५ मतभार  प्राप्त गर्दै विजयी हुनुभएको छ। ठाकुरले आफ्ना प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेललाई ५ हजार ९ सय २० मत अन्तरले पराजित गर्नु भयो । पौडेलले १ हजार ८ सय ५ मत प्राप्त गर्नुभयो । यस कलष्टरमा ३ सय १५ मत बदर भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन  अन्तर्गत  प्रदेशमा १ सय मध्ये ९९ जना प्रदेश सभा सदस्य र २ सय ६४ मध्ये २ सय ४२ जना पालिका प्रतिनिधिहरु मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष  मतदान गरेको  मुख्य निर्वाचन अधिकृत  पुरीले बताउनुभयो।

मधेश प्रदेशमा चार सीटका लागि नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दलका सहित ११ जनाले उम्मेदवारी दिए । मधेस प्रदेशमा दलित, अल्पसङ्ख्यक÷अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन भयो ।

प्रदेशसभा तर्फ १सय ४ जना र स्थानीय तहतर्फ २६६ गरी ३ सय ७० जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ छ भन्ने २ सय ६६ जना पालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १९ छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा कुल १० हजार ५ सय ८५ मतभार रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका अधिकृत राहुल ठाकुर र अभिषेक रञ्जना राय ,इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, धनुषा जिल्ला प्रतिनिधि सन्तोष कुमार यादवसहितको संयुक्त टोलिले निर्वाचनको अनुगमन गरेको प्रतिनिधि सन्तोष कुमार यादव बताउनु भयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो