राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित भएका छन् ।
माघ ११ गते घोराहीमा भएको निर्वाचनमा काङ्ग्रेस-एमाले गठबन्धनबाट महिलातर्फ नेकपा एमालेकी मदाने गाउँपालिका–४ गुल्मीकी रामकुमारी झाँक्री बिजयी हुनु भएको छ । उहाँले ६ हजार ३ सय ३ मतभार पाउनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका दुर्गा भण्डारीले १ हजार ३ सय ६२ मतभार पाउनुभयो भने राष्ट्रिय जनमोर्चाका पद्मा पण्डितले १ सय ८६ मतभार पाउनुभयो ।
यसैगरी गठबन्धनकै अपाङ्गतातर्फ लमही नगरपालिका–२ दाङका बासुदेव घिमिरेले ६ हजार ३ सय २२ मतभार पाएर विजय हुनुभएको छ। उहाँका प्रतिस्पर्धि नेपाली कम्युनिस्ट पार्टीका सर्जन बिकले १ हजर ६ सय १ मतभार प्राप्त गर्नुभयो । त्यसैगरी गठबन्धनकै अन्य समूहतर्फ रेसुङ्गा नगरपालिका–३ गुल्मीका चन्द्रबहादुर केसी बिजयी हुनुभएको छ । केसीले ५ हजार ९ सय ७७ मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका बृहस्पति अधिकारीले १ हजार ८ सय ३२ मतभार प्राप्त गर्नुभयो भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १ सय ६७ मतभार प्राप्त गर्नुभयो ।
लुम्बिनी प्रदेशमा ३ सिटका लागि आठ जना प्रतिस्पर्धामा थिए । प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २ सय १६ गरी २ सय ९९ मध्य प्रदेशसभाका ७८ र स्थानीय तहतर्फ २०८ गरि २ सय ८६ जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहको १९ मतभार छ भने सात मत बदर भएको थियो ।
यसैबीच बिजयीहरुलाइ मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पन्डितले प्रमाणपत्र दिएर शुभकामना दिनुभयो । बिहान ९ बजेदेखि शुरु भएको मतदान शान्तिपुर्णरुपमा सम्पन्न भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।