INSEC Online

📅 २०८३ जेष्ठ २२

राष्ट्रिय सभामा कर्णाली प्रदेशबाट दुई जना निर्वाचित

कर्णाली प्रदेशमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अन्य कलस्टरबाट उम्मेदवार बन्नुभएका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहनुभएकी एमालेकी मिनासिं रखाल ०८२ माघ ११ गते निर्वाचित हुनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीका दुवै उम्मेदवार भने पराजित हुनुभएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि सुरु भई  दिउँसो ३ बजेसम्म भएको थियो ।

प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हाल्नुभएन । स्थानीय तहतर्फ १ सय ५८ मतदाता सङ्ख्यामध्ये १ सय ५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत हाल्नुभएन । कुल मतदाता सङ्ख्याको ९६.४६ प्रतिशत मत खसेको थियो ।

खसेको मतमध्ये एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाउनुभयो । यस्तै कांग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १ सय मत पाएको  निर्वाचन अधिकृत दिपक ढकालले बताउनु भयो ।  उहाँका अनुसार, कुल १ सय ९८ मतदाता सङ्ख्यामध्ये १ सय ९१ मतदान गरेका थिए ।

यस्तै पराजित भएका नेकपाका उम्मेदवार महिलातर्फ अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाउनुभयो भने बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गर्नुभयो । खसेको कुल मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यहरुको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षको मतभार १९ रहेको थियो । प्रदेशसभा सदस्यको २ हजार १ सय २० र स्थानीय तहको ३ हजार २ गरी ५ हजार १ सय २२ मतभार थियो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो