निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा लिखित स्पष्टीकरण माग गरेको छ ।
नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्वर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा मुख्यमन्त्री कार्की पनि सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण माग गरेको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरू निर्वाचन प्रचारप्रसार वा मनोनयनजस्ता प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ ।
‘प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुने कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड ९(क) को उल्लङ्घन हुने देखिएकोले‘ तपाईं सहभागी हुनु भएको हो वा होइन ? स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ,’ आयोगको पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री कार्कीलाई पत्र प्राप्त भएको तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा जवाफ पेश गर्न कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । आयोगद्वारा ०८२ माघ ७ गते पत्र जारी गरिएको छ ।
झापा निर्वाचन अधिकृतको कार्यालयमा भएको उक्त मनोनयन कार्यक्रममा बहालवाला मुख्यमन्त्रीको उपस्थिति कानूनविपरीत भएको भन्दै आयोग मुख्यमन्त्रीसँग स्पष्टीकरण माग गरिएको छ ।
