INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेसँगै लुम्बिनी प्रदेशका १२ ओटै जिल्लामा ०८२ माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन गरिएको छ ।

इन्सेक बर्दिया प्रतिनिधि प्रकाश पौडेलका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा प्रतिनिधि सभा क्षेत्र नं. १ को लागि गुलरिया नगरपालिकामा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ को लागि राजापुर नगरपालिकामा रहेको राजापुर भन्सार कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने सहायक निर्वाचन अधिकृत कमल घलेले बताए ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठले औपचारिक रूपमा निर्वाचन कार्यालय स्थापना भएको बताउनु भयो । साथै उहाँले राजनीतिक दल, पत्रकार लगायत सरोकारवाला निकायसँग निरन्तर रूपमा समन्वय गर्दै निर्वाचनलाई भयरहित शान्तिपूर्ण गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनुप ढकालले फागुन २१ गते हुने निर्वाचनमा ३ लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये पुरुष १ लाख ५९ हजार ३ सय ८७ र महिला १ लाख ६३ हजार ८ सय ७३ जना र अन्य ६ जना मतदाता रहेका र बर्दियामा १ सय ५४ मतदाता स्थलमा ३ सय ८७ मतदान केन्द्र रहेको बताउनु भयो ।

इन्सेक दाङका प्रतिनिधि जयनारायण पुनका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङका तीन वटै निर्वाचन क्षेत्रमा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन क्षेत्र नंं. १ मा लमही नगरपालिकाको कार्यालयमा, क्षेत्र नं. २ मा जिल्ला अदालत घोराहीमा र क्षेत्र नं. ३ मा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरमा कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पन्डितले जानकारी दिनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले निर्वाचन सुरक्षाप्रति प्रश्न गर्दै शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन माग गरे ।

इन्सेक प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि प्यूठान जिल्लामा माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन सम्पन्न गर्नको लागि जिल्ला सदरमुकामा रहेको वन डिभिजन कार्यालयमा एक कार्यक्रमको बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले निर्वाचन आयोगले आफूहरुलाई दुई दिनको प्रदेश स्तरीय अभिमुखीकरण दिएको र निर्वाचन सम्बन्धी ऐन नियमहरु प्नि आयोगको वेबसाइटबाट डाउनलोड गरी अध्ययन गर्दै काम गर्ने बताउनु भयो । ५१ प्रतिशत काम निर्वाचन आयोगले सम्पन्न गरेको भन्दै उहाँले विगतका निर्वाचनहरुको अनुभवका आधारमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु, अधिकारकर्मी र पत्रकारहरुको उपस्थित रहेको थियो ।

इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

यससँगै माघ २ गते जिल्लाका पाँच ओटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालय भैरहवाको बाल मन्दिर स्थापना गरिएको छ ।

कार्यालय स्थापनाको अवसरमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले विषम परिस्थितिका कारण निर्वाचन तुरुन्तै सम्पन्न गर्नुपर्ने अवस्था आएको बताउनुभयो । निर्वाचनलाई राजनीतिक दलहरूले उत्सवको रूपमा चित्रण गर्दै उनले स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि आयोग र राज्यका सबै संयन्त्रहरू लागि परेको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्लामा २ सय ९ मतदान स्थल, ७ सय ३२ मतदान केन्द्र रहेको छ । कुल मतदाता ६ लाख ७२ हजार ५ सय २३ जना (फागुन २० सम्म १८ वर्ष पुग्ने) मध्ये ३ लाख २६ हजार ३ सय ११ जना महिला र ३ लाख ४६ हजार २ सय ३ जना पुरुष र नौ जना अन्य मतदाता रहेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले बताउनुभयो ।

निर्वाचन अधिकृत बस्नेतले माघ ६ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ, माघ ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय, माघ ८ गते उजुरी उपर जाँचबुझ र बेलुका ७ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

माघ ९ गते उम्मेदवारी फिर्ता लिने र उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिने कार्यक्रम रहेको बस्नेतले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको बताउनुभयो ।

उम्मेदवार, कर्मचारी र मतदाताको सुरक्षाका लागि जिल्लाका सबै सुरक्षा अङ्गहरु सूक्ष्म रूपमा खटिएको उनले जानकारी दिनुभयो । साथै, निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउन र आचारसंहिताको पूर्ण पालना गर्न उनले राजनीतिक दलहरूलाई अपिल गरेका छन् ।

रुपन्देहीको क्षेत्र नं १ देवदह नगरपालिकाको बहुउद्देश्यीय भवन, शितलनगरमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । त्यहाँ निर्वाचन अधिकृतको रूपमा कपिल पौड्याल खटिएका छन् । क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका, देवीनगर, ११ नं वडा कार्यालयको नयाँ भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने यहाँ निर्वाचन अधिकृतको रूपमा राजेन्द्र न्यौपाने खटिएका छन् । क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिका मझगाँवामा राखिएको छ ।

इन्सेक गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला समन्वय समितिको भवनमा निर्वाचन क्षेत्र नं. १ को लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेल रहनुभएको छ । निर्वाचन क्षेत्र नं. २ को लागि जिल्ला शिक्षा, विकास तथा समन्वय इकाइको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्षेत्रको लागि निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिवक्ता हरिहर पौडेल रहनुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम पन्थीले जानकारी दिनुभयो। जसमा महिला १ लाख १५ हजार २ सय १० जना, पुरुष १ लाख १४ हजार ३ सय ३७ जना र अन्य दुई जना मतदाता छन्।

दुई निर्वाचन क्षेत्रमा १ सय ४५ मतदान स्थल र २ सय ८४ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला कारागार गुल्मी र राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रमलाई अस्थायी मतदान केन्द्र कायम गर्न सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

इन्सेक अर्घाखाँची प्रतिनिधि कूल बहादुर नेपालीका अनुसार आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र भएको हुँदा अर्घाखाँची जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कार्यालय स्थापनाको क्रममा मुख्य निर्वाचन अधिकृत पाण्डेयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित वातावरण बनाउन जिल्लाका राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।

आगामी निर्बाचनका लागि विगतका अनुभवबाट हेर्दा मतदाताहरुको अबस्था, भौगोलिक कठिनाइ र सुरक्षा निकायको सेवा पहुँचलाई ध्यान दिँदै १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै मतदातालाई मतदान गर्ने सुरक्षित वातावरण व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनु भयो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार ०८२ माघ ६ गते प्रत्यक्षको मनोनयन दर्ता गर्ने मिति तय भएकोले निर्वाचन कार्यक्रम तालिका अनुसार कामकार्य अगाडि बढाउन मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले जानकारी दिनु भयो ।

पौडेलका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली थपिएर कायम रहेका मतदाता सङ्ख्या १ लाख ७१ हजार ६ सय ५२ मध्ये महिला ८४ हजार ४ सय ९५ र पुरुषको ८७ हजार १ सय ५७ रहेका छन् । यस पटक थपिएका मतदाता ६ हजार ८ सय ८४ जना मतदाता नामावलीमा नाम दर्ता भएका छन् । जसमा २ हजार ३ सय २० महिला र ४ हजार ५ सय ६४ पुरुष रहेको जानकारी दिँदै निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यतालिका अनुसार काम कार्य सम्पन्न हुँदै गएको बताउनु भयो ।

लुम्बिनी प्रदेश कार्यालय

अन्य

भिडियो