INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारमैत्री संरचनाका लागि अधिकारकर्मीहरूको ध्यानाकर्षण

पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्र्तराष्ट्रिय एयरपोर्टका संरचनाबारे अधिकारकर्मीहरूले चासो राख्दै सबैखाले व्यक्तिलाई सहज हुने गरी अपाङ्गतामैत्री तथा ज्येष्ठ नागरिकलाई सुविधा हुने खालका संरचना निर्माण गर्न सुझाव दिएका छन्  ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालको नेतृत्वमा गएको अधिकारकर्मीहरूको टोलीले माघ २२ गते विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीलाई भेटेर यस्तो संरचना निर्माणको बारेमा सुझाव दिएको हो ।

सञ्जालका अध्यक्ष विष्णु बरालले अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि यात्रुहरूको चाप सोही अनुसार बढ्ने हुँदा संरचना निर्माण क्रममै सबैलाई सहज हुने संरचना निर्माण गर्नुपर्ने बताए ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले विमानस्थल निर्माणका क्रममा अपाङ्गतामैत्री संरचना, तेस्रो लिङ्गी व्यक्तिहरूका लागि छुट्टै शौचालय, स्तनपान कक्ष, गर्भवती महिला तथा बालबालिकाको कपडा फेर्न मिल्ने कक्ष निर्माण जस्ता कुरामा ध्यान दिन आग्रह गरेका थिए ।

अधिकारकर्मीहरूको सुझाव तथा आग्रहपछि आयोजना प्रमुखले मुनकर्मीले मानव अधिकारमैत्री संरचना निर्माणमा आफुहरू सचेत रहेको प्रतिक्रिया दिए । ‘हामी यस विषयमा सचेत छौँ । केही कुराहरू छुटेका हुन सक्लान् । त्यसलाई थप गर्न सकिन्छ ।’–मुनकर्मीले भने ।

अन्य

भिडियो