INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमाली गाउँ छाङरु तिंकरका मतदाताले सदरमुकाम खलंगामै मतदान गर्ने

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि व्याँस गाउँपालिका–१ अन्तर्गतका छाङरु र तिंकर गाउँका मतदाताले जिल्ला सदरमुकाम खलंगामै मतदान गर्ने भएका छन् । हरेक वर्ष जाडोयाम सुरु भएसँगै यहाँका स्थानीयहरू बसाइँसराइ (कुञ्चा) गरी खलंगा झरेपछि खलंगामै मतदान गर्ने भएका हुन् ।

यहाँका स्थानीय ६ महिना व्यास गाउँपालिकाको छाङरु–तिंकरमा र बाँकी ६ महिना खलंगामा बसोबास गर्दै आएका छन् । मङ्सिर यता तिंकर गाउँ पूर्ण रूपमा सुनसान बनेको छ ।  तिंकरस्थित ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) समेत छाङरु झरेको छ । छाङरु भन्दा तिंकरमा अत्याधिक हिमपात हुने भएपछि स्थानीय खलंगा झरे भने सुरक्षाकर्मी छाङरु झरेका हुन् । यो गाउँ चीनसँग सीमा जोडिएको छ । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्छ ।

छाङरु गाउँमा भने केही सङ्ख्यामा स्थानीयको बसोबास रहेको छ । वडा नम्बर १ का अध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकिदारका रूपमा राखिएको छ । उहाँलाई वडाले ६ महिनासम्म मासिक १५ हजार रुपियाँका दरले पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । अत्याधिक हिमपात हुने भएकाले स्थानीयहरू जाडोयाममा बसाइँसराइ गर्न बाध्य हुने गरेका छन् । कोहि नभएको बेला चोरीका घटना गाउँमा नहोस् भन्नको लागि चौकिदार राख्ने गरिएको छ ।

हाल छाङरुमा सौर्य ऊर्जाका अपरेटर प्रल्हाद ऐतवाल, द्रोपति बोहरा र दौलत बोहराको परिवार बसोबास गर्दै आएका छन् । सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म र नेपाल प्रहरी छाङरुमै छन् । छाङरु भारतसँग सीमा जोडिएको गाउँ हो । भारतले अतिक्रमण गरेको कालापानी भन्दा छाङ्रु १० किलोमिटर तल छ ।

यसअघि ०७९ सालको स्थानीय तह निर्वाचन छाङरु र तिंकरकै मतदान केन्द्रमा भएको थियो । वैशाख–जेठतिर हुने निर्वाचनहरू प्रायः गाउँमै हुने गरेको वडा अध्यक्ष बोहराले जानकारी दिनुभयो । वैशाखमा स्थानीय सौका समुदायको भाषामा (कुञ्चा) सरेर जाने हुँदा गाउँमै मतदान हुन्छ ।

योपटक स्थानीय मङ्सिर महिनामै खलंगा झरेका हुँदा यहाँ मतदान केन्द्र तोकिदा स्थानीय खुसी भएका छन् । “गाउँमै मतदान केन्द्र भए यस्तो अवस्थामा मतदान गर्न सम्भव हुँदैन,” उहाँले भन्नुभयो, खलंगामै मतदान केन्द्र तोकिदा मतदाताको सहभागिता पनि बढ्छ ।

स्थानीयको बसाइँसराइ भइसकेको हुँदा विगतको परम्परा अनुसार मतदान केन्द्र खलंगामै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास गाउँपालिका–१ मा दुई ओटा मतदान केन्द्र कायम छन् । गाउँकै मतदान केन्द्रका आधारमा खलंगा पनि मतदान केन्द्र कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय, दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार छाङ्रुका स्थानीयको लागि कैलाशपति आधारभूत विद्यालय छाङरुमा ३ सय ७५ जना र तिंकरका स्थानीयको लागि मोति महिला संघ आधारभूत विद्यालय तिंकरमा २ सय ४४ जना मतदाता कायम गरिएको छ । ०७९ सालको निर्वाचनमा छाङरुमा ३ सय ८३ र तिंकरमा २ सय ३४ जना मतदाता रहेका थिए ।

यसैगरी यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर १ सय १२ मतदानस्थल र १ सय ४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार तीमध्ये २२ ओटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । कुल १ सय ४३ मतदान केन्द्रमध्ये २२ अति संवेदनशील, ४१ संवेदनशील र ७८ सामान्य वर्गमा विभाजन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक दुर्गमता र सुरक्षा निकायको पहुँचलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको पौडेलको भनाइ छ । ०७९ सालको निर्वाचनको तुलनामा यस वर्ष २ हजार १ सय ६६ मतदाता थपिएका छन् । ०७९ मा ९० हजार ७ सय ८२ मतदाता रहेकामा हाल सङ्ख्या बढेर ९२ हजार ९ सय ४८ पुगेको छ । तीमध्ये ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार १ सय ९३ महिला मतदाता रहेका छन् ।

 

नरेन्द्रसिह कार्की

अन्य

भिडियो