दाङका मुक्त कमलरीहरूले जुनसुकै काम गर्दा पनि पहिचान चाहिने भन्दै आफूहरूलाई परिचयपत्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
घोराहीमा असोज १७ गते भेला भएका मुक्त कमलरीहरूले मुक्त कमैयालाई जस्तै आफूहरूलाई पनि राज्यले परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
उनीहरूले दासतापछिको स्वतन्त्रताका लागि, मुक्त कमलरीहरूको पहिचानका लागि, राज्यले प्रदान गरेको सकारात्मक विभेदको अवसर लिनका लागि, मुक्त कमलरी एकल महिलाले पाउने सेवा सुविधा लिनका लागि एकै रङ्ग वा प्रकारको परिचयपत्र दिनुपर्ने कमैया महिला जागरण समाजकी केन्द्रीय सचिव लोकमाया चौधरीले बताइन् ।
यसैगरी कमैयासँगै विना पारिश्रमिक (बुक्रही) भएर जमिन्दारको घरमा काम गर्ने कमैया महिलाहरूको उचित पुनःस्थापना गरिनुपर्ने, त्यसका लागि घरजग्गा, आवश्यक सामग्री सहयोग दिने भनी गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने र सामाजिक सुरक्षाका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिनुपर्ने कमैया महिला जागरण समाजकी जिल्ला अध्यक्ष कमलापति चौधरीले बताइन् ।
यसैगरी सकारात्मक विभेदको व्यवस्था गर्दै मुक्त कमैया महिलाहरूको वृत्ति विकासका लागि गाविस तथा नगरपालिकाबाट बजेट विनियोजन गरिनुपर्ने, स्वरोजगारीका लागि उद्योग सञ्चालन गर्ने महिलाहरूलाई विना व्याज ५ लाख रुपियाँसम्म ऋण उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरे ।
कमैया महिलाहरूले आफ्ना माग सम्बोधन गर्न जिल्लास्थित सरोकारवाला सरकारी निकाय तथा राजनीतिक दलका प्रमुख, प्रतिनिधिहरूलाई बोलाएर कमैया महिला पहिचान तथा मुक्त कमैया पुनःस्थापनाका लागि अन्तरक्रिया समेत गरे ।
उक्त अवसरमा जिल्ला भूमिसुधार कार्यालय, एमाले, माओवादी केन्द्र, राजमोका प्रतिनिधिहरूले माग सम्वोधनका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
दाङमा ६ हजार ४ सय ७२ मुक्त कमैया रहेका छन् भने ती मध्ये १ हजार ४ सय २६ जनाले मात्र परिचयपत्र पाएका छन् । त्यस्तै ६ सय ८८ जनाले १० धुरदेखि ५ कठ्ठासम्म जग्गा पाएका छन् । तर, उनीहरूसँगै जमिन्दारको घरमा विना पारिश्रमिक कमैया बसी मुक्त भएका ७ हजार कमैया महिलाहरूले मुक्त कमैया परिचयपत्र पाउनुपर्ने माग गर्दै आएका छन् ।