राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ०८२ पुस १६ गते प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
०८२ माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पुस १६ गते जिल्ला अदालत मोरङका न्यायाधीश भिष्मराज प्रसाईलाई निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश भिष्मराज प्रसाईलाई ०८२ पुस ८ गते निर्वाचन अधिकृत तोकेको थियो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै राष्ट्रिय सभा निर्वाचनका लागि कार्य सम्पादन थालिसकेको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
निर्वाचन आयोगको कार्य तालिका अनुसार ०८२ पुस १५ गते निर्वाचन अधिकृत नियुक्ति र पुस १६ गते प्रदेश निर्वाचन कार्यालय, विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको सहायक अधिकृत बुढाथोकीले बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ०८२ पुस १९ गते अन्तिम मतदाता नामावली प्रकाशन, पुस २३ गतेदेखि पुस २७ गतेसम्म दावीविरोध र पुस २८ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत बुढाथोकीले बताउनु भयो ।
आगामी ०८२ फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार सरकारले आगामी ०८२ माघ ११ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन मिति घोषणा गरेको छ ।
कोशी प्रदेशबाट राष्ट्रिय सभामा रहेका महिला समूहमा एमालेबाट निर्वाचित इन्दिरादेवी कोइराला, दलित समूहबाट माओवादी केन्द्रबाट निर्वाचित गोपीबहादुर सार्की अछामी र अन्य समूहबाट देवेन्द्र दाहालको कार्यकाल ०८२ फागुन २० गते समाप्त हुँदैछ ।
कोशी प्रदेशबाट निर्वाचित हुने तीन पदका लागि निर्वाचन तयारी थालिएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तह र प्रदेशसभाका सदस्यहरूले मात्रै मतदान गर्ने हुँदा कोशी प्रदेशमा एक मतदानस्थल र दुई ओटा मतदान केन्द्र मात्रै रहने सहायक निर्वाचन अधिकृत बुढाथोकीले बताउनु भयो ।
कोशी प्रदेशमा स्थानीयतहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २ सय ७४ जना र प्रदेशसभाका ९३ जना सदस्यहरूले मतदात गर्नेछन् ।
राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ जना मतदाता छन् ।
राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले मत गणना हुन्छ । ०८२ माघ ११ गते मतदान विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ ।