बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबु तुरून्तलाल बडहीलाई माघ १५ गते गिरफ्तार गरेको छ ।
बालिकाको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा माघ १४ गते राति घरमा भेटिएपछि प्रहरीले हत्याको आशङ्का गर्दै घरबाटै मृतकका बाबुलाई गिरफ्तार गरेको हो ।
मृतककी आमा फरार रहेकाले घटना थप शङ्कास्पद भएको भन्दै उनको खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले बताए ।
इन्स्पेक्टर श्रेष्ठका अनुसार कोठाको भित्रबाट चुकुल नलागेको, भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटकको दागसमेत देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
तुरन्तलालले हत्या गरेको अस्वीकार गरे पनि सामान्य कुटपिट गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरीताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुवाआमाले सरीतालाई कुटपिट गरेको स्वीकारेका छन् ।
शवको पोष्टमार्टमका लागि माघ १५ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि सत्यतथ्य नजिक पुग्न सकिने बताएका इन्स्पेक्टर श्रेष्ठले प्रहरी प्रतिवेदनकै आधारमा समेत कारवाही प्रकृया अगाडि बढने जानकारी दिए ।