INSEC Online

📅 २०८३ जेष्ठ २१

सिप सिकेर व्यवसाय गर्दै जिल्ला कारागारका कैदीबन्दी

परेको शरीर, हल्का रङ्ग्याएको कपाल, आँखामा पावर भएको चश्मा लगाएर यताउता टहलिरहेका छन् म्याग्दी कारागारका चौकीदार, रमेश बिक । उनको दैनिकी कारागार र कैदीबन्दीको रेखदेखमा नै बित्छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका रमेश कारागारमा रहेका कैदीबन्दीहरूले तयार गर्ने फर्निचर तथा अन्य सामग्रीहरूको रेखदेख गर्ने गर्छन् । साथै कारागार प्रशासनसँग समन्वय गरेर उत्पादित सामग्रीको बजार व्यवस्थापन र सहयोग गर्ने जिम्मेवारी पनि रमेश कै छ ।

म्याग्दी कारागारमा २५ पुरूष र सात महिलाको क्षमता भएपनि अहिले ८५ जना पुरूष, सात जना महिला र दुई जना आश्रित बालक गरी ९६ जना रहेका छन् । कैदीबन्दीहरूले कारागारमा आफूहरूले चाहेको समयमा आवश्यक सिपसम्बन्धी तालिमको व्यवस्था कारागारले गरिदिएकाले सजिलो भएको बताउँछन् पुर्व चौकीदार कमल पुर्जा ।

बेनी नगरपालिका पात्लेखेतका पुर्जा पहिला चौकीदार थिए तर कारागार व्यवस्थापनको नीति अनुरूप एक वर्ष भन्दा चौकीदार बन्न नपाइने भएकाले उनी अहिले चौकीदार पद छाडेको भएपनि रेखदेख र व्यवस्थापनको समग्र काममा सहयोग गर्छन् ।

कैदीबन्दीले कारागारमा पहिलो पटक बाँसको सोफा बनाइरहेका छन् । बजारमा मुडा, सोफा जस्ता बाँसले बनेका सामग्रीको माग बढिरहेको पुर्जाको अनुभव छ । मुडा बनाउने अधिकांश कैदीबन्दीले सबै खर्च कटाएर मासिक ६ हजारसम्म बचाउने गरेको पुर्जा बताउँछन् ।

७० वर्षीय दरीलाल जुग्जाली कारागारकै पाका कैदी हुन् । बाँसका मुडा बुन्ने सीप उनीसँग छ । उनी बिहानैदेखि मेहनत गरिरहेका हुन्छन् । कारागारलाई सुधार गृह मात्रै नभई व्यवसाय केन्द्र पनि मान्न सकिने जुग्जालीको अनुभव छ । जिल्ला कारागारका सबैजसो कैदीबन्दीले मुडा बनाउने, फर्निचर, झोला बुन्ने तथा सिलाउने, अगरबत्ती÷मैनबत्ती उत्पादन, फोटो फ्रेमिङ जस्ता तालिम लिएको जुग्जालीले बताए ।

बाहिरी वातावरणमा बसिरहेका व्यक्तिलाई सुरूवाती दिनमा कारागारमा बस्न अप्ठेरो लाग्ने गरेपनि बानी पर्दै गएपछि घुलमिल हुँदै जाने म्याग्दी कारागारका कैदी बन्दी बताउँछन् । कारागारमा खेलकुद, मनोरञ्जनको सुविधा पर्याप्त रहेको कैदीबन्दी बताउँछन् ।

कारागारमा सबैभन्दा बढी आम्दानी गर्ने अन्नपुर्ण गाउँपालिकाका चन्द्रबहादुर रन्तिजा पर्छन् । रन्तिजाले मासिक १० हजार रुपियाँसम्म बचाउँछन् ।

कैदीबन्दी मध्येकै एक जना व्यक्तिलाई सहयोगीको रूपमा राखेका रन्तीजाले र काठको फर्निचरका सामान बनाउँछन् । रन्तीजाले काठ प्रयोग गरी सामग्री तयार पारेर बजारमा बिक्री गर्दा राम्रो आम्दानी गर्ने गरेको बताउँछन् ।

जिल्ला कारागार प्रमुख राजेन्द्र शर्मा कारागारले काठ खरिद गरेर ल्याउन सहयोग गर्ने गरेको बताउँछन् । कारागारमा तयार पारेको सामग्री सस्तोमा पाइने हुँदा बाहिर बढीनै हुने कारागार प्रमुख शर्माको भनाई छ ।

मुडा बनाउन तथा फर्निचरका लागि आवश्यक कच्चा सामग्री खोज्न र महङ्गो मुल्य तिरेर ल्याउनु पर्ने समस्या भने रहेको कैदी जुग्जालीको भनाई छ । स्थानीय वयापारीहरूले बजारको भन्दा बढी मुल्यमा कारागारमा सामान उपलब्ध गराउने भए पनि कारागारमा निर्मित मुडा तथा फर्निचरका सामान खरिद गर्दा भने बजार दाम भन्दा कम मुल्य दिने गरेको कैदीबन्दीको गुनासो छ ।

Photo20190130Myagdi01

Photo20190130Myagdi02

Photo20190130Myagdi03

Photo20190130Myagdi04

Photo20190130Myagdi05

Photo20190130Myagdi06

Photo20190130Myagdi07

अन्य

भिडियो