INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारबाट भागेका कैदी १८ वर्षपछि गिरफ्तार

आमाको हत्यापछि कारागारमा कैद सजाय भोगिरहेका बनगाड कुपिण्डे नपा–९ स्वाराका ३६ वर्षीय एकेन्द्रबहादुर खड्कालाई कारागारबाट भागेको १८ वर्षपछि प्रहरीले माघ १४ गते गिरफ्तार गरेको छ ।

२०५६ सालमा आमा सुईतीकुमारी खड्कालाई खुकुरी प्रहार गरेको अभियोग लागेका खड्कालाई सल्यान जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

सर्वस्वसहित जन्मकैदको सजाय पाएका खड्का १ वर्ष ७ महिना २५ दिनको कैद भुक्तान गरिसकेका थिए । तर, ०५८ फागुन २३ गते जिल्ला कारागारको पर्खाल नाघेर उनी भागेका थिए ।

उनी कारागारबाट फलामको ड्रम प्रयोग गरी पर्खाल नाघेर भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

भारतको सिम्लामा लुकिछिपी विवाह गरी बसेको र नेपाल आउने जाने गरेको थाहा पाएपछि उनलाई गाउँमै लुकेर बसेको अवस्थामा गिरफ्तार गरिएको डिएसपी शाहीले बताए ।

डेढ वर्ष बढी कैद भुक्तान गरिसकेका खड्कालाई कारागारबाट भागेको आरोपमा थप दुई वर्ष सजाय हुने भएको प्रहरीले जनाएको छ । खड्काले भुक्तान गर्न बाँकी कैद १८ वर्ष ४ महिना ५ दिन थियो ।

अब उक्त सजायमा दुई वर्ष जोडेर २० वर्ष ४ महिना ५ दिन कैद सजाय हुनेछ । उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय सल्यान पठाइएको डिएसपी शाहीले बताए ।

अन्य

भिडियो