नयाँ सन्देश अनलाइनकी प्रधान सम्पादक रमा चन्दमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला घर भई धनगढीमा डेरा गरी बस्दैआएका २८ वर्षीय मनिष श्रेष्ठ र धनगढी उपमहानगरपालिका–४ का विकास भट्टलाई ०८२ पुस १ गते गिरफ्तार गरेको छ ।
उद्योग वाणीज्य संघ, कैलालीले सञ्चालन गरेको सुदूरपश्चिम महोत्सवमा मङ्सिर २७ गते समाचार संकलन तथा महोत्सवको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा पछाडीबाट धक्का दिएर दुर्व्यवहार गरेको भन्दै आरोपित विरुद्ध मङ्सिर २९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित चन्दले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित श्रेष्ठलाई मङ्सिर २९ गते डेराबाट र भट्टलाई पुस १ गते घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर कैलाश विष्टले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा कैलाली जिल्ला शाखाले मङ्सिर २९ गते घटनाका विरुद्धमा प्रेश विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा पत्रकारमाथि भएको दुर्व्यवहार निन्दनीय भएकोले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि आघात पुग्ने यस प्रकारका घटनामा संलग्नहरुलाई कारबाही गर्न समेत माग गरेको छ ।