कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया अविना दनुवारको परिवारलाई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मङ्सिर २६ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
इन्सेक मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्ष मार्फत बालिकाको परिवारलाई उक्त सहयोग रकम डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत प्रदान गरिएको हो ।
कर्जन्हा नगरपालिकाका प्रमुख भोला प्रसाद पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष गंगाकुमारी अधिकारी, मानव अधिकार एलाइन्सका देवराज पोखरेलको उपस्थितिमा प्रमुख र उप प्रमुख मार्फत १० हजार रुपियाँ आमा दयावती कुमरीलाई हस्तान्तरण गरिएको इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले बताउनु भयो ।
कक्षा ९ मा अध्ययनरत अविनाको शव ०८२ मंसिर १५ गते दिउँसो विद्यालयकै दक्षिणपट्टि कमला नहर छेउको झाडीमा फालिएको अवस्थामा फेला परेको थियो ।
इन्सेक र मुक्ति नेपालले ०८२ मङ्सिर २५ गते संयुक्त रुपमा घटनाको अनुगमन गरेको थियो।