INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलाको शंकास्पद मृत्युः हत्या भएको दावी

डाकनेश्वरी नपा–३ तरहीकी २५ वर्षीया ललितादेवी साहको हत्या उनकै ३५ वर्षीय पति शङ्कर साह, ३२ वर्षीय देवर राजकुमार साह र ५५ वर्षीय ससुरा रामदेव साहले गरेपछि रुखमा झुण्ड्याएको मृतककी आमा कैलीदेवी साहले माघ १३ गते आरोप लगाएकी छिन् ।

पोष्टमार्टमका लागि परिवारका सदस्यहरूसँगै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल आएकी कैलीदेवीले सञ्चारकर्मी एवम् अधिकारकर्मीहरूसँग ललिताको हत्या भएको दावी गर्दै न्यायको पहलका लागि आग्रह गरिन् ।

पुरुषको मफलर (गलबन्दी)को पासो लगाई घरदेखि एक किलोमिटर पश्चिम रहेको आँपको रुखमा झुण्डी मृत्यु भएको अवस्थामा माघ १३ गते ललिताको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर विष्णुप्रदिप बस्यालले पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको ललिताको शवको घाँटीमा पासोको निलडाम बाहेक अन्य चोटपटक नदेखिएको तर परिवारका सदस्यहरू फरार भएकाले शङ्कास्पद रहेको बताए ।

पोष्टमार्टमबाट धेरै कुरा स्पष्ट हुने र अनुसन्धानमा सहयोग पुग्ने बताउँदै जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

हत्या गरी आत्महत्या देखाउन रूखमा झुण्ड्याइएको भन्दै मृतककी बहिनी बन्दना साहले घरपरिवारका सदस्यहरूले नै हत्या गरेर फरार भएको आरोप लगाइन् ।

शव र घटनास्थलको अवस्था हेर्दा हत्यापछि रुखमा झुण्ड्याएको जो कसैले सजिलै भन्न सक्ने मृतकका भाइ विकासकुमार साहले दावी गरे । ललितामाथि पहिलेदेखि नै कुटपिट हुने गरेको कुरा उनी माइत आएका बेला सुनाउने गरेको विकासले बताए ।

पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको मृतक ललिताको नाक, मुखबाट रगत बगेको, आँखा, टाउको, छातीमा चोटपटक लागेको देखिएको भन्दै डा. कल्पना साहले फोरेन्सिक जाँचका लागि धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेकी छिन् । शवलाई पोष्टमार्टमका लागि माघ १३ गते साँझ धरानस्थित प्रतिष्ठान पठाइएको छ ।

आरोपित शङ्करका मामा सोही ठाउँका ५० वर्षीय इन्द्रदेव साहले घटनास्थल पुगेको प्रहरीसहितको टोलीले आत्महत्या नै भएको भनेपनि माइती पक्षले हत्याको आरोप लगाएपछि मृतकका पति डरले फरार भएको बताए ।

सामाजिक परम्पराअनुसार १४ वर्षअघि १२ वर्षकै उमेरमा बोदे बरसाईन नपा–१० अमरैयाकी ललिताको १० वर्ष जेठा शङ्करसँग विवाह भएको थियो । उनीहरूका दुई छोरा छन् ।

अन्य

भिडियो