प्रहरीको आँखा छलेर हिरासत तथा सुधारगृहबाट फरार भएका दुई जनालाई प्रहरीले ०८२ मंसिर २६ गते गिरफ्तार गरेको छ ।
विराटनगरस्थित कोशी अस्पतालको शौचालयको भेन्टिलेसन तोडेर भागेका चोरी मुद्दाका अभियुक्त र बाल सुधारगृहबाट सुरक्षाकर्मीलाई आक्रमण गरी भागेका कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीले अढाई महिना र केही हप्ताको अन्तरालपछि गिरफ्तार गरेको हो ।
चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको कटहरी गाउँपालिका–१ का २० वर्षीय मोहमद राजु ०८२ असोज १२ गते अस्पतालबाटै फरार भएका थिए। कारागारमा पेट दुख्ने नाटक गरेर उपचारका लागि कोशी अस्पताल पुगेका उनी, शौचालय जाने बहानामा फरार भएका थिए ।
लामो समयदेखि खोजीको सूचीमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सई सुवास अधिकारी नेतृत्वको टोलीले मंसिर २६ गते घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।