INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं मानव अधिकार महाभेला–२०८२ को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय लगायत विभिन्न संघसंस्थाको आयोजनामा पोखरामा मंसिर २५ गते प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रम मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौलाकोे प्रमुख आतिथ्यता र मानव अधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेश अध्यक्ष प्रमिला तक्याको अध्यक्षतामा सम्पन्न भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशका प्रमुख गर्तौलाले मानव अधिकार सबै नागरिकका लागि अपरिहार्य र अविभाज्य अधिकार भएकाले राज्य, नागरिक समाज, समुदाय र प्रत्येक व्यक्तिले यसका सरोकारमा गम्भीरता र उत्तरदायित्वका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
जेनजी पुस्ताका अभियन्ता सजिस बास्तोलाले देशको अस्थिर राजनीतिक अवस्थाले युवा पुस्ताको सामाजिक, आर्थिक, राजनीतिक अधिकार र अवसरमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्नुभयो ।

जेनजी प्रतिनिधि स्मारक भण्डारीले सुन्दर र समृद्ध नेपाल निर्माणका लागि युवा पुस्ताबीचको सहकार्य, अधिकार संरक्षणमा युवाको सक्रियता तथा साझा जिम्मेवारीको आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा अधिवक्ता जुना कुमारी गुरुङले संविधानका मौलिक हक र सुशासनका विषयमा आफ्नो प्रस्तुति दिनु भएको थियो ।

कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले लोकतान्त्रिक प्रणाली, मानव अधिकारको ऐतिहासिक विकास, नागरिक स्वतन्त्रता र समावेशी शासन व्यवस्थाको महत्वबारे प्रष्ट पार्नु भयो ।

एकल महिला समूहकी संस्थापक अध्यक्ष दुर्गा न्यौपानेले कानुनले प्रदान गरेका अधिकार कागजमा मात्र सीमित नहोस्, कार्यान्वयनमा ठोस परिणाम देखिने गरी राज्य र संस्थाहरूले जनउत्तरदायी रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

१७ औं मानव अधिकार महाभेला, गण्डकी प्रदेश संयोजक प्रमिला तझ्याका अनुसार महाभेलाले प्रदेशभर मानव अधिकार चेतना, संवाद र सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनु भयो ।

गण्डकी प्रदेश कार्यालय

अन्य

भिडियो