१६ वर्षीया बालिकाको उदयपुर गाइघाट निवासी २३ वर्षीय पेशल श्रेष्ठसँग माघ ७ गते तामझामले हुँदै गरेको बालबिबाह भुमीडाँडा बाल सञ्जालको सक्रियतामा रोकिएको छ । प्रेम सम्वन्धका कारण दुवै पक्ष बाजागाजासहित विवाह गर्ने तयारीमा थिए ।
विवाहका लागि निम्ता समेत बाँडिएपछि हातेमालो बाल सञ्जालले कम उमेरमा विवाह गर्न नहुने उल्लेख गर्दै ‘विवाह रोक्नका लागि’ बेहुलीको घरमा नै पत्र पठायो ।
विवाहका लागि सबै तयारी पूरा भएकाले विवाह नरोक्ने अडान दुवै पक्षको थियो । यसैबिच माघ ६ गते स्थानीय जनप्रतिनिधि, बालक्लवका पदाधिकारी र बेहुलाबेहुली पक्ष एकै स्थानमा बसेर छलफल समेत भएको थियो ।
वडाध्यक्ष इश्वर जङ्गमका अनुसार छलफल निश्कर्षमा नपुगेपछि माघ ७ गते बिहान प्रहरी चौकी पनौतीमा ‘बालविवाह रोकी पाउँ’ भन्ने व्यहोराको उजुरी परेको थियो । प्रहरीले बेहुला–बेहुली दुवैलाई प्रहरी चौकीमा ल्याएपछि दुवै पक्ष विवाह रोक्न तयार भएका हुन् ।
पनौती नगरपालिका–१२ भुमीडाँडा बालमैत्री वडा घोषणा भइसकेको छ । कक्षा ९ मा अध्ययनरत ति बालिका बालप्रकाश माविमा अनुर्तिण भएपछि विवाह गर्ने सोचाइमा थिइन् । छलफलपछि पनौतीस्थित प्रहरी चौकीमा दुवै पक्षले २० वर्ष पुगेपछि मात्र विवाह गर्न राजी भए ।
काभ्रेमा अघिल्ला वर्षहरूमा बालविवाहका मुद्दाहरू दर्ता नै नगरी बालबालिकाको अभिभावकको जिम्मामा पठाएपनि सन् २०१८ मा उमेर नै नपुगी विवाह गरेका चार ओटा घटना दर्ता भएका छन् । तर, सन् २०१८ मा दर्ता भएका बालविवाहका मुद्दाहरू वर्षको अन्त्यसम्म फैसला भएका छैनन् ।