INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा मङ्सिर २४ गते प्रभातफेरी सहित सभाको आयोजना गरी मनाइयो । मानव अधिकार महाभेला गण्डकी प्रदेश, गैसस महासङ्घ नेपाल, गण्डकी प्रदेश सरकार र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रभातफेरी कार्यक्रम मानव अधिकार चोकबाट सुरु भई न्युरोड हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रमका पोखरा उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर वागचन्दको प्रमुख आतिथ्यता र मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख तथा सहसचिव नितु गर्तौलाको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथि डा. वागचन्दले मानव अधिकार कार्यान्वयनमा न्यायालयको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै न्यायको अनुभूति नागरिकसम्म प्रभावकारी रूपमा पु¥याउनु पर्नेमा जोड दिनुभयो । डा. वागचन्दले यदि न्यायाधिशले आफ्नो कर्तव्य पालना नगरे पदमा बस्नुको औचित्य नरहेको समेत बताउनु भयो ।

मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख तथा सहसचिव नितु गर्तौलाले मानव अधिकार प्रवद्र्धन राज्यको मात्र होइन, नागरिक, समुदाय र संस्थाहरूको साझा दायित्व भएको बताउनु भयो ।

प्रदेश प्रमुख कार्यालयका एसएसपी तुलबहादुर कार्कीले सुरक्षा निकाय मानव अधिकारको रक्षक भएको बताउँदै समुदायमैत्री, संवेदनशील र पारदर्शी सुरक्षा प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गैसस महासङ्घ नेपाल, गण्डकी प्रदेशका इन्चार्ज गोपाल खड्काले गैरसरकारी संस्थाहरू मानव अधिकार संरक्षण र सीमान्तकृत समूहका समस्यामा अग्रपंक्तिमा रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता मानव अधिकारको आधारस्तम्भ भएको भन्दै पत्रकार तथा नागरिकमाथिका दमनप्रति चासो व्यक्त गर्नुभयो ।

१७ औं मानव अधिकार महाभेला, गण्डकी प्रदेश संयोजक प्रमिला तझ्याले महाभेलाले प्रदेशभर मानव अधिकार चेतना, संवाद र सहकार्य विस्तारमा महत्वपूर्ण योगदान गरिरहेको र मानव अधिकार संरक्षण र प्रवर्धनमा सधै तत्पर रहेको बताउनु भयो । कार्यक्रमले गण्डकी प्रदेश मानव अधिकारप्रति चेतना, सहकार्य र प्रतिबद्धतामा सुदृढ बन्दै गएको साथै सबै पक्षको सक्रिय सहभागिताले आगामी दिनमा थप प्रभावकारी सुधार र सकारात्मक परिवर्तन आउने सन्देश दिएको छ ।

कार्यक्रमको सहजिकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले गर्नुभएको थियो ।

गण्डकी प्रदेश कार्यालय

अन्य

भिडियो