INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार तथा मौलिक हक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओजश्वी नेपाल, गोल्डेन पिक हाइस्कुल र शान्ति विद्यागृह माध्यमिक विद्यालय लैनचौरको संयुक्त आयोजनामा ०८२ मङ्सिर २३ गते महानगरपालिका–६ सरस्वतीनगरमा एक दिने मानव अधिकार तथा मौलिक हक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा दुई विद्यालयका कक्षा ९ का ४० छात्रा र ४३ छात्रको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रमको सहजीकरण इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा शाखा फोकल पर्सन कृष्णप्रसाद नेपालले गर्नु भएको थियो।

अन्तरक्रिया कार्यक्रममा मानव अधिकारको आधारभूत अवधारणा, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रका मुख्य प्रावधानहरु, नेपालमा मानव अधिकार संरक्षणमा भएका प्रयासहरु, मानव अधिकार संरक्षणमा विभिन्न निकाय तथा संघ संस्थाको भूमिका, मानव अधिकार संरक्षणमा इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग लगायत संस्थाहरुको भूमिका र नेपालको संविधानमा व्यवस्था भएको मौलिक हक र कर्तव्यको बारेमा संक्षिप्त छलफल गरिएको थियो। छलफलमा विद्यार्थीहरुले लैङ्गिक हिंसा तथा यसको कारक तत्वहरुका बारेमा जिज्ञासा राखेका थिए।

यसैगरी नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अवस्था र यसको न्यूनीकरणका लागि स्थानीय सरकार, विद्यालय, सामुदायिक संस्था, नागरिक समाज र विद्यार्थीहरुको भुमिका बारेमा समेत छलफल भएको थियो।

कार्यक्रम १६ दिने लैङ्गिक हिंसाविरुद्धको सन्दर्भ र समकालीन समयमा डिजिटल मिडिया र यसको गलत प्रयोगका कारण भएका हिंसाका विषय र किशोरावस्थाका बालबालिकाले अपनाउनु पर्ने सावधानीका बारेमा समेत छलफल गरिएको थियो।

कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै प्रधानाध्यापक छत्रमणी राईले इन्सेकलाई धन्यवाद दिनु भएको थियो ।

ओजश्वी नेपालका अध्यक्ष कला राईले आधारभूत तह र माध्यमिक तहका विद्यार्थीका लागि यस्ता अन्तरक्रियाले विद्यार्थीमा मानव अधिाकरमैत्री विकासको अवधारणा र लैङ्गिकताको विषयमा आगामी दिनमा सामाजिक र नैतिक चेतनामा क्षमता अभिवृद्धि हुने विषयमा जोड दिनु भयो।

इन्सेक लगायत विभिन्न गैरसरकारी संस्थाहरुले मानव अधिकार तथा लैङ्गिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रमले समाजमा मानव अधिकारमैत्री विकासको प्रवद्र्धन, बाल अधिकार क्षमता अभिवृद्धि प्रणालीको विकास र हिंसा न्यूनीकरणका लागि महत्वपूर्ण रहेको बताउनु भयो।

यसैगरी ओजश्वी नेपालका कार्यसमिति सदस्य गीता थापाले सामुदायिक र संस्थागत विद्यालयको साझेदारीमा विद्यालयम आधारित डिजिटल शिक्षा र सामाजिक सञ्जालबारेमा सचेतना कार्यक्रमका लागि स्थानीय सरकारले लगानी बढाउनुपर्ने र बालबालिकाको सर्वोतम हितमा काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो।

कार्यक्रमका सहजकर्ता कृष्ण प्रसाद नेपालले यस्ता किसिमका छलफलले मानव अधिकार र लैङ्गिकताका विषयहरुमा विद्यालय तहका पाठ्यक्रमका विषयवस्तुहरूमा युवा, महिला, बालबालिकाहरुको सहभागीता र क्षमता अभिवृद्धिका लागि विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने र यसले मानव अधिकार र सामाजिक न्यायमा मद्धत पुग्ने विषयमा जोड दिनु भयो ।

 

अनलाइनडेस्क

अन्य

भिडियो