जिल्ला कारागार म्याग्दीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । ३२ जना क्षमताको कारागारमा अहिले ९४ जना कैदीबन्दी रहेको कार्यालय प्रशासनले जनाएको छ । कैदीबन्दीको सङख्या बढी हुँदा दैनिकी असहज हुने गरेको छ ।
२५ पुरुष र सात जना महिलाको क्षमता रहेको म्याग्दी कारागारमा अहिले ८५ जना पुरूष र ५ जना कैदीबन्दी तथा दुई जना आश्रित बालबालिका रहेका छन् ।
धेरैजना व्यक्ति साँघुरो ठाउँमा कोचाकोच गरी बस्नुपर्दा पानी, शौचालय र सुत्ने स्थानको समस्या हुने गरेको र सोही कारणले कैदीबिच बेमेल समेत हुने गरेको जिल्ला कारागार, म्याग्दीका प्रमुख राजेन्द्र शर्मले बताए ।
समस्याका बारेमा आफूले कारागार व्यवस्थापन विभागसम्म नै जानकारी गराएको भएपनि क्षमता विस्तारका लागि कुनै प्रगति नभएको उनको भनाई छ ।
अहिले कारागार म्याग्दीमा रहेका कैदीबन्दी मध्ये अधिकांश बलात्कार तथा हत्याका घटनामा आरोपित तथा दोषी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी बिरबहादुर बुढामगरले क्षमता बढी भएकोमा व्यवस्थापन गर्न जेल सरूवाका लागि प्रयास गरेको भएपनि अन्य जिल्लाका कारागारको क्षमता समेत साँघुरै भएकाले अन्यत्र सार्न सम्भव नभएको बताए ।
पछिल्लो समय प्रहरीले विगतमा अपराध गरेर फरार रहेका आरोपित तथा अभियुक्तलाई गिरफ्तार गर्ने क्रम बढेकोले गर्दा पनि कैदीबन्दीको सङ्ख्या बढ्दै आएकाले समस्या बढेको डिएसपी बुढामगरको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कारागारको क्षमता बढाउने र अन्य जिल्लासँग समन्वय गरी जेल सरूवा गरेर भए पनि व्यवस्थापनको प्रयास भइरहेको जानकारी दिएका छन् ।