INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखरामा रक्तदान गरेर सुरु गरियो मानव अधिकार महाभेला

मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७७ औं वर्षगाँठ नजिकिँदै गर्दा पोखरामा रक्तदान कार्यक्रम आयोजना गरी साताव्यापी उत्सवको थालनी गरिएको छ । ‘मानव अधिकारः हाम्रो दैनिक आवश्यकता’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै १७ औं राष्ट्रिय मानवअधिकार महाभेला २०८२ को औपचारिक सुरुआत ०८२ मङ्सिर २० गते खुला रक्तदान कार्यक्रममार्फत गरिएको हो ।

पोखरा महानगरपालिका– ८ सिर्जनाचोकमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा आयोजित उक्त कार्यक्रममा मानव अधिकारकर्मी, सामाजिक अभियन्ता र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा २६ जनाले रक्तदाता गरेका थिए । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो । रक्त सञ्चार केन्द्रका इन्चार्ज महेन्द्र केसीका अनुसार रक्तदानमा सहभागी हुनेमा १८ जना पुरुष र आठ जना महिला रहेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मुलुकको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन नागरिक समाज र सामाजिक संघसंस्थाहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो । ‘सामाजिक संघसंस्थाहरूले आफ्नो स्थापनाकालमा लिएको मूल उद्देश्य र मर्मलाई कहिल्यै भुल्नु हुँदैन । प्राथमिकता निर्धारण गरेर जिम्मेवारीबोधका साथ अघि बढे मात्र समाज रूपान्तरण सम्भव छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल र गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणकुमार पौडेलले मानव अधिकारको रक्षाका लागि राज्य र नागरिक समाज हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । यस्तै, राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले मानव अधिकारको जग नै बाँच्न पाउने अधिकार भएकोले रक्तदान त्यसको एक अभिन्न पाटो भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य गोपाल खड्का, नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी तथा पूर्व सभापति डण्डराज शर्मा पौडेल लगायतले मन्तव्य राख्दै रगतको विकल्प रगत नै भएकोले यसलाई महादानको रूपमा लिइने बताउनुभयो ।

मानवअधिकार महाभेला–२०८२ गण्डकी प्रदेशकी संयोजक प्रमिला तझ्याको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मानव अधिकार एलायन्स गण्डकी प्रदेशका अध्यक्ष डा. बुद्धिबहादुर थापाले स्वागत मन्तव्य राख्दै महाभेलाको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले गर्नुभएको थियो । संयोजक भण्डारीले मानव अधिकारको आन्दोलन केवल भाषण र गोष्ठीमा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिनुभयो । ‘नागरिक समाजको खबरदारी र यस्ता मानवीय कार्यहरूले लोकतन्त्रलाई बलियो बनाउँछ । आजको रक्तदान कार्यक्रमले हामी मानव अधिकार रक्षकहरू समाजको दुःख र आवश्यकतासँग प्रत्यक्ष जोडिएका छौं भन्ने सन्देश दिएको छ,’ उहाँले भन्नुभयो ।

रक्तदान कार्यक्रम इन्सेक, कोपिला नेपाल, एड्भोकेसी फोरम, उमेन अफ ह्यूमन राइट, एकीकरण नेपाल, मानव अधिकार एलाइन्स लगायतको संयुक्त आयोजनामा गरिएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी र मानव अधिकार रक्षकहरू गरी करिब ६५ जनाको उपस्थिति रहेको थियो । यो कार्यक्रमसँगै पोखरामा मानवअधिकार दिवस केन्द्रित विभिन्न अभियान र गतिविधिहरू सुरु भएका छन् । 

सञ्जय रानाभाट

अन्य

भिडियो