नीलकण्ठ नगरपालिका–१४ की २५ वर्षीया मोनिका आलेमगरलाई सोही वडाको धुवाकोटको रातमाटेमा माघ ८ गते भतिज नाता पर्ने १६ वर्षीय बालकले खुकुरी प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।
बिहान घरबाट घाँस लिन बाहिर निस्किएकी आले मगरलाई खुकुरी प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार महतोले बताए ।
घाँस काट्न घरबाट निस्किएको केही बेरमा घर नजिकै आलुबारीमा भतिजोले खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुर आलेमगरले बताए ।
नरबहादुरले भने–‘माघ ७ गते आरोपित बालकले ‘गाउँमा एक जना बोक्सी छ । उसलाई काट्नु पर्छ भनेर हिँडेको थियो ।’ माघ ८ गते बिहान घरमा समेत आएको थियो । बुहारी घाँस काट्न निस्किएको केहीबेरमा घटना भयो ।’
गाउँबासीले महिलालाई खुकुरीले जथाभावी काटेको देखेपछि उद्धारका लागि गएका थिए । गाउँबासी घटनास्थल पुग्दा आरोपित सुमन फरार भएका छन् भने मोनिकाको स्वासनली काटिएर मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान सुरू गरिएको र आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव जिल्ला सदरमुकाम लगिएको छ । मृतकको एक ५ वर्षीया छोरी छिन् भने उनका पति नेपाली सेनामा कार्यरत छन् ।