जलवायु परिवर्तन, विपत् व्यवस्थापन र दीगो विकासका लागि उपलब्धिमूलक कार्यसम्पादन गर्ने उदेश्य सहित सिटी नेपाल राष्ट्रिय अध्याय (सि एन एन सी) ले ०८२ मङ्सिर १८ गते तेस्रो राष्ट्रिय भेला विरगञ्जमा सम्पन्न भएको छ ।
राष्ट्रिय भेलामा इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकारका पक्षमा इन्सेकले पैरवी र वकालत गर्नुका साथै सचेतनाका काम गर्नेदेखि बालबालिकाको क्लव बनाएर विभेद न्युनीकरणका कार्यक्रमसँगै क्षमता विकास, हिमालय बचाउ, सेभ द माछापुच्छ«े कार्यक्रम पनि गर्दै आएको बताउनु भयो ।
अनुसन्धान तथा शिक्षण केन्द्र (डीआरआर रिसर्च तथा लर्निङ्ग सेन्टर) का विज्ञ प्रा. डा. आमोदमणी दिक्षितले भेलालाई सम्बोधन गर्दै विपत् न्यूनिकरणमा स्थानीय सरकारको तयारी नपुगेको बताउनु भयो । विपद् व्यवस्थापन तथा पूर्व तयारीलाई स्तरीय बनाउन गठित सहकार्यात्मक संरचनालाई अझ चुस्त ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
नेपालमा सिटी नेपाल राष्ट्रिय अध्याय (सिएनएनसी) काठमाडौँ, ललितपुर, वीरगञ्ज, विराटनगर, तानसेन, भरतपुर लगायत विभिन्न १६ स्थानीय सरकार र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत आठ ओटा सहयोगी संस्थाहरुको संगठनात्मक संरचना हो ।