पुस २५ देखि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीलाई माघ ३ गते राति काठमाडांँ लगिएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ गते साँझ इलाम आइपुगेको टोलीले केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको औँल्याउँदै आइसीयुनै आवश्यक पर्नै भन्दै अन्यत्र लैजान सुझाव दिएपछि राति साढे १० बजे डा. केसीलाई काठमाडौँ लगिएको हो ।
डा. केसीलाई एम्बुलेन्समार्फत भद्रपुर विमानस्थल लगेर नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
डा. केसीलाई भेट्न र उनका मागप्रति ऐक्यबद्धता जनाउन चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुङ्गाना माघ ३ गते साँझ इलाम आइपुगेका थिए । उनीहरू पनि डा. केसीसँगै काठमाडौँ फर्किएका छन् ।
डा. केसी आफू १५ औँ अनसनमा बस्दासम्म सरकारले गरेका सहमति र सम्झौता कार्यान्वयन गर्नुपर्ने भन्दै इलाममा १६ औँ अनसनमा बसेका थिए ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित राष्ट्रिय चिकित्सा विधयेयक संसदमा पेश भइसकेको छ । माघ ४ गतेदेखि उक्त विधयेयकमाथि छलफल हुने जनाइएको छ ।
संसदमा पेश भएको विधेयक पारित गर्नुपर्नेमाग राख्दै अनसनमा बसेका अर्का युवा विजय थापालाई पनि स्वास्थ्य समस्या थप जटिल हुने भन्दै डा. केसीसँगै काठमाडौं पठाइएको छ ।
डा. केसीलाई भद्रपुर पठाएपछि अर्का अनसनकर्ता थापालाई पनि सोही हेलिकप्टरमा पठाउन अर्को एम्बुलेन्समा सँगसँगै भद्रपुरनै पठाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
थापा पुस २७ गतेदेखि इलाम चोक बजारमा अनसनमा बसेका थिए । उनको पनि स्वास्थ्य समस्या बढेपछि इलाम अस्पतालमै भर्ना गरिएको थियो ।

फोटो साभारः अनलाइन खबर