मानव बेचबिखनमा संलग्न भएको र १५ वर्षयता फरार भएकी सुन्दरहरैँचा नगरपालिका–६ की ५० वर्षीया बिना राई (लिम्बू) लाई प्रहरीले गिरफ्तार गरेको छ ।
मानव बेचविखनमा संलग्न भएको मुद्दामा विगत १५ वर्षदेखि फरार रहेकी बिनालाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीको टोलीले एकसाता अघि गिरफ्तार गरेको प्रहरी चौकी गछियाका इन्स्पेक्टर गणेश दाहालले बताउनु भयो ।
मानव बेचविखन गरेको घटनामा बिनाविरुद्ध ०६७ साल असोज ५ गते इलाका प्रहरी कार्यालय, बेलबारीमा किटानी जाहेरी परेको थियो ।
लामो समयदेखि आरोपित फरार हुँदा कार्यान्वयनमा जान नसकेर जाहेरी वर्षौंदेखि अलपत्र परेको थियो ।
बिनाले आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै भारतको नयाँ दिल्लीको बाटो प्रयोग गरेर एक जना नेपाली महिलालाई साउदी अरब पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार ती महिलालाई वैदेशिक रोजागारीमा पठाउने र आकर्षक कमाइ हुने प्रलोभन देखाएर नयाँ दिल्ली हुँदै साउदी अरब पुर्याइएको थियो । पछि नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएर पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन । आफूविरुद्ध जाहेरी परेको थाहा पाउनसाथ बिना फरार भइन ।
राजदूतावासले उद्धार गरेर नेपाल पठाएकी महिलाले कानुनी कारबाहीको बाटो रोजेको भएपनि प्रतिवादी गिरफ्तार नपर्दा लामो समयदेखि जाहेरी ‘पेन्डिङ’मा थियो । पीडितले न्याय पाउन सकिरहेकी थिइनन । बिनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउन प्रहरीले जिल्ला अदालतमा मङ्सिर ५ गते मानव वेचविखन शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटुवालले रोजगारीका लागि बिनाले साउदी पठाएकी महिला साउदी पुगेपछि पीडितले अत्यधिक श्रमशोषण र दुव्र्यवहार सहनुपरेको बताउनु भयो । ‘साउदीमा पीडा सहेर बसेकी महिला दूतावासको सहयोगमा नेपाल फर्किएपछि पीडितले बिनाविरुद्ध प्रहरीमा उजुरी दिएको अनुसन्धानका क्रममा एसपी कटुवालले बताउनु भयो ।
प्रहरीमा आरोपितविरुद्ध जाहेरी परेको भए पनि प्रतिवादी फरार भएकाले मुद्दा अघि बढ्न सकेको थिएन । अब गिरफ्तार भइसकेकाले प्रमाणका आधारमा प्रक्रिया अघि बढ्छ,’ एसपी कटवालले भन्नुभयो ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण० ऐन, २०६४ अनुरूप विदेश पुर्याएर श्रमशोषण वा बन्धनमा राख्ने कार्य गम्भीर अपराध मानिन्छ ।
मानव बेचबिखन प्रमाणित भए १० देखि १५ वर्षसम्म कैद सजाय, आर्थिक जरिबाना र राज्यतर्फबाट कठोर कारबाही हुने प्रावधान छ ।