प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरी इनरूवाका ३० वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि अपरिचित व्यक्तिले माघ २ गते राति सवा आठ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
कम्मरभन्दा माथि गोली लागेर गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरस्थित न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खडक नगरपालिकाअन्तरर्गत बोदे बर्साइन जाने बाटोमा गस्तीमा खटिएका उनीमाथि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले जानकारी दिए ।
घाइते प्रहरी हवल्दार सतरालाई माघ ३ गते बिहान थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको एसपी विष्टले बताए ।
गोली प्रहार गरेर उनीहरू मोटरसाइकलमै दक्षिण क्षेत्र बोदे बर्साइनतर्फ फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनास्थलमा सशस्त्र समूह प्रगतिशील तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।
घटना लगत्तै एसपी विष्टसहितको टोली घटनास्थल पुगेका छन् भने आरोपितहरूको खोजी कार्यका लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।