सुर्खेत जिल्ला सिम्तागाउँपालिका–२ काफलकोटका २३ वर्षीय दिपकसिंह ठकुरीको हत्या आरोपमा प्रहरीले माघ २ गते राप्ती सोनारी गाउँपालिका–२ राजपुरका २० वर्षीय युवराज गिरीलाई गोली प्रहार गरेको छ ।
प्रहरीको गोली प्रहारबाट गिरीको बाँया गोडामा चोट लागेको छ । आरोपितलाई बर्दिया जिल्ला मधुबन नगरपालिका–३ बाट माघ २ गते इन्स्पेक्टर भरतसिंह राठौरको प्रहरी टोलीले गिराफ्तार गरी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहलाई बुझाउने क्रममा आरोपित भाग्न खोज्दा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पीडितको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ ।
प्रहरीले घटनामा सङ्लग्न रहेको आरोपमा अछाम जिल्ला ढकारी गाउँपालिका–३ का २२ वर्षीय भरत शाहीलाई माघ १ गते गिरफ्तार गरेको थियो ।
आरोपितद्वयले कोहलपुर नपा–११ स्थित खुला चौरमा पुस २७ गते ठकुरीको घाटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यलयले जनाएको छ ।
आरोपितहरूले मृतकबाट प्रहरीमा जागिर लगाइदिने भन्दै १ लाख ४० हजार रुपिँया लिएको र त्यसकै विवादमा हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी अरूण पौडेलले बताए ।