INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामीको मृत्युपछि राजविराज तनाबग्रस्त

उपचारका क्रममा माघ २ गते छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि राजविराजस्थित अञ्चल अस्पताल तनावग्रस्त बनेको छ ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिहान भर्ना भएका सदाको मृत्यु चिकित्सकको लापरवाहीले भएको भन्दै बिरामीका परिवारका सदस्य, गाउँलेहरू र विद्यार्थी, युवाहरूले प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त बनेको हो । नाराबाजी र प्रदर्शनपछि अस्पतालको स्वास्थ्य सेवा समेत प्रभावित भएको छ ।

प्रदर्शनको नेतृत्व नेविसङ्घका नेता एवम् राजविराज नगरपालिका–५ का सदस्य पार्थो सरकार, तरूण दलका सिताप्रसाद यादव र फिदा हुसेनले गरिरहेका छन् ।

उनीहरूले स्वास्थ्य मन्त्रीले राजिनामा दिनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग राख्दै जुलुस समेत निकालेका छन् ।

राजविराज नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन समेत गएका प्रदर्शनकारीहरूले पुनः अस्पतालमा पुगी प्रदर्शन जारी राखेका छन् ।

हातगोडा दुखेर अस्पताल भर्ना भएका सदालाई सुई लगाएर स्लाइन चढाएपछि अकस्मात मृत्यु भएको मृतककी बुहारी सरीतादेवी सदाको आरोप छ ।

प्रहरी र प्रदर्शनकारीहरूबीच ठेलमठेल भएपछि मच्चिएको हुलदङ्गापछि अस्पतालको आकस्मिक विभागका केही कर्मचारीहरू सेवा बन्द गरी बाहिरिएका छन् ।

डा. रञ्जित झाले उपचार गर्दागर्दै भएको मृत्युप्रति दुःख व्यक्त गर्दै चिकित्सकले इन्जेक्सन लगाएकै कारण मृत्यु भएको भ्रम फैलाएर आन्दोलन चर्काएर चिकित्सकहरूले बिरामी नै हेर्न नपाउने अवस्था सृजना गर्न खोजिएको दुखेसो पोखे ।

यसअघि गत असोज ६ गते सप्तरीको रूपनी गाउँपालिका–६ वीरेन्द्र बजार निवासी अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको उपचार नगरी मृत घोषणा गरेको भन्दै अस्पतालमा भएको तोडफोडको सम्बन्धमा गठित छानविन समितिले मृत भइसकेपछि ल्याइएका बालकलाई जिउँदै भनी भ्रम सृजना गरी तोडफोड गर्ने दोषीहरूलाई कारवाही गर्न सिफारिश गरेको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा राजविराज नगरपालिका–४ का ओमप्रकाश सेठलाई आवश्यक वस्तु तोडफोडको आरोपमा गिरफ्तार गरी कारवाही गरिएको थियो ।

अन्य

भिडियो