लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा ०८२ मंसिर ९ गतेदेखि नीलकण्ठ नगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल पत्रकार महासंघ, गैसस महासंघलगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा प्रभातफेरी र कोणसभाको आयोजना गरी मनाइयो ।
‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
प्रभातफेरीपछि सिरानबजारमा कोणसभालाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले लैंगिक रुपमा गरिने हिंसाको अन्त्यका लागि स्थानीय सरकारले सचेतना कार्यक्रम गर्ने र पीडितको सुरक्षा र संरक्षणका कार्यक्रम गर्ने बताउनुभयो ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल बागमती प्रदेशका अध्यक्ष गायत्री खतिवडाले महिलाको सामाजिक, आर्थिक र राजनीतिक सहभागिता वृद्धि नभएसम्म समावेशी विकास सम्भव नहुने बताउदै लैंगिक हिंसा, बालविवाह, घरेलु हिंसा तथा कार्यस्थलमा हुने भेदभाव अन्त्यका लागि सरकार, स्थानीय तह र समुदायको समन्वित प्रयास अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले लैिङ्गक हिंसा विरुद्धका कानुनहरुको प्रभावकारी कार्यान्वयन मार्फत पीडित पक्षलाई सुरक्षित गर्ने वातावरण बनाउन सबै सरोकारवालाको जिम्मेवारी बराबर रहेको बताउनु भयो ।
प्रभातफेरी कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार, सरकारी निकायका प्रतिनिधी, स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो ।