सिद्धार्थ नगरपालिका–६ का ४० वर्षीय केदार चाई साहनीको पुस २८ गते राति प्रहरीले गोली हानी हत्या गरेको छ ।
विभिन्न फौजदारी मुद्दामा प्रहरीको ‘मोष्ट वाण्टेड’को सूचीमा रहेका साहनी ‘इन्काउण्टर’मा मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले बताए ।

पुस २८ गते राति तस्कर हुन लागेको सूचनाका आधारमा प्रहरीले विशेष टोली खटाई नाकामा चेकजाँच गर्ने क्रममा सिद्धार्थनगर नपा–१० शङ्करपुर पतैयाचौरमा युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकलमा आएका दुई जना व्यक्तिले प्रहरीमाथि फायरिङ्ग गरेपछि प्रहरीको जबाफी कारवाहीमा साहनीको मृत्यु भएको र एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आरोपितद्वयको फायरिङ्गबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान २७ वर्षीय कृष्ण श्रेष्ठको बाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
एसपी थापाका अनुसार आरोपितको साथबाट आरोपितले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको मोटर साइकल, युएसए लेखेको एक थान अटोमेटिक पेस्तोलमा जोडेको म्यागजिन के एफ ७.६५ लेखेको गोली ३ राउण्ड, च्याम्बरमा के.एफ ७.६५ लेखेको गोली १ लोड भएको अवस्थामा पेस्तोल बरामद गरिएको र घटनास्थल वरिपरी फायरिङ्ग पिनमा ११८५ लेखेको गोलीको खोका ५ थान के.एफ ७.६५ लेखेको गोलीको खोका थान २, ९ एक्स १९०८ लेखेको गोलीको खोका १ थान र एमएफएस २००१ लेखेको गोलीको खोका १ थान, ३१७०३ लेखेको गोलीको खोका थान १ गरी जम्मा १० थान खोका बरामद गरिएको बताए ।
मृतक साहनी तत्कालीन नेकपा माओवादीसँग आबद्ध भएको र केही समय अगाडिदेखि जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद भूमिगत समूहमा प्रवेश गरी चन्दा आतंकमा सक्रिय हुँदै सीमा क्षेत्रमा तस्कर गर्दे आएको प्रहरीको आरोप छ ।
साहनीविरूद्ध कर्तव्य ज्यान, बम विष्फोट, चन्दा–फिरौतीलगायतका मुद्दाहरु रहेका छन् । आरोपितले ०७१ साल भदौ २८ गते भैरहवाका आकाश गुरुङलाई अपहरण गरी परिवारसँग १ करोड फिरौती मागेको र फिरौती दिन नसक्ने बताएपछि उनको हत्या गरी नवलपरासी जिल्लाको बर्दघाट जङ्गलमा फालेको आरोप थियो । सहनी ०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेको समेत प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको प्रहरीले जनाएको छ । मृतकका भाइ गोविन्द चाई साहनीले शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।