INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरी बेचबिखन भएको आशङ्का गर्दै खोजविन तथा उद्धारका लागि आग्रह

मुसिकोट नपा–५ सेरीगाउँका दुई बालिका एक महिनादेखि बेपत्ता भएपछि बेचबिखनको आशङ्का गरेर परिवारले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र मुसिकोट नगरपालिकाको न्यायिक समितिमा पुस २६ गते खोजविन तथा उद्धारका लागि निवेदन दिएको छ ।

कात्तिक १० गते घरबाट हराएका १८ वर्षीया टिका परियार र १३ वर्षीया नेहा परियार मङ्सिर ३० गते परिवारको सम्पर्कमा आएपनि त्यसपछि सम्पर्कविहीन भएका हुन् । झापा घर बताउने दिपु मगरले टीकालाई विवाह गर्ने र नेहालाई शहर घुमाउने भनेर लगेको उनीहरूले परिवारसँग बताएका थिए ।

पहिले त्यहि कुरामा विश्वस्त भएपनि अहिले उनीहरू सम्पर्कविहीन भएपछि बेचबिखनको शङ्का लागेर खोजी गरिदिन प्रहरी र नगरपालिकामा निवेदन दिएको नेहाकी आमा गोमा परियारले जानकारी दिइन ।

आफ्ना छोरीहरू एक महिनादेखि सम्पर्कमा नआएपछि बेचबिखनमा परेको आशङ्का गरेर खोजी गरिदिनका लागि नगरपालिकामा निवेदन पेश गरेको मुसिकोट नगरपालिका कार्यालयका बाल अधिकार अधिकृत मानवीर ओलीले बताए ।

निवेदनपछि प्रहरी र नगरपालिकाको पहलमा उनीहरूको फोटो, हुलियासहित कल डिटेल बुझ्न फोन नम्बर बालबालिका खोजतलास केन्द्र काठमाडौँमा पठाएर खोजीका लागि अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो