INSEC Online

📅 २०८३ जेष्ठ २१

सेनाद्वारा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा आपत्ति

वर्दिवास नपा–२ निवासी रातोपाटी महोत्तरीका सम्वाददाता ३७ वर्षीय निकेश खनाल र वर्दिवास नपा–१२ पशुपतिनगर निवासी खबर दर्पणका पत्रकार २५ वर्षीय ललन मण्डलमाथि नेपाली सेनाले पुस २१ गते मध्यरातमा दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाले पुस २५ गते प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ ।

महासङ्घका सभापति कमलेश मण्डलले पुस २५ गते जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चारकर्मीद्वयमाथि नेपाली सेनाले गरेको दुर्व्यवहारप्रति घोर भत्र्सना गर्दै घटनाको यथाशीघ्र छानविन गरी दोषी माथि कारबाहीको माग गरिएको छ ।

गत पुस २१ शनिबार मध्यरातमा अवैध रूपमा नदी उत्खनन् गरिरहेको सूचनाको आधारमा समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि सेनाले दुर्व्यवहार गरेको आरोप छ ।

बर्दिबास नगरपालिका–१३ मा विजय साहले सञ्चालन गरेको चुरियामाई वासिङ सेन्टरले प्रदेश २ को पृतना क्षेत्रभित्र अवैध रूपमा नदी उत्खनन् गरी त्यहाँ भएका गिट्टी बालुवा चुरियामाई वासिङ सेन्टरमा लैजाँदै गरेको अवस्थामा बर्दिवास खबर दर्पणका पत्रकार मण्डल र रातोपाटीका महोत्तरीका सम्बाददाता खनाललाई नेपाली सेनाका मेजर पुष्कर बस्नेतले दुर्व्यवहार गरेको आरोेप छ ।

पत्रकारसँग सेनाका मेजर बस्नेतले चुरियामाई वासिङ सेन्टरका सञ्चालक विजय साहसँग क्रसरले सेनाको काम गरे बापत सेनाको पेरिमिटरबाट नदीजन्य पदार्थ उत्खनन् गर्न दिने शर्त राखेर सेनाको पेरिमिटरभित्र निर्माणाधीन कामहरू सम्पन्न गर्ने शर्तमा उत्खनन् गर्न दिएको बताए ।

उनले सम्झौता अनुसार नै उत्खनन् भएको भन्दै सञ्चारकर्मीले आफूहरूलाई अनावश्यक दुःख दिएको उल्लेख गरे ।

मेजरले सञ्चारकर्मीलाई प्रलोभन देखाउँदै घटनाको समाचार नछाप्न धम्की दिएको पत्रकारद्वयले आरोप लगाएका छन् ।

सेनाका मेजर बस्नेतले आफूले सबै काम पृतनापतिकै आदेशमा गरेको जानकारी गराउँदै सेनाको पेरिमिटर भित्र हुने सम्पूर्ण क्रियाकलापमा नेपाली सेनाकै अधिकार रहेको हुँदा आफूहरूले गरेको क्रियाकलाप कानुन अनुसार रहेको भन्दै प्रहरी तथा सञ्चारकर्मीलाई घटनास्थलबाट फर्काएका थिए ।

अन्य

भिडियो