नरहरिनाथ गाउँपालिका-१ का ५७ वर्षीय डिल्ली कामीलाई जातीय विभेद गरी कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३२ वर्षीय चनबहादुर विष्ट र २८ वर्षीय नरेन्द्र विष्टलाई प्रहरीले पुस २३ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले विष्टद्वय विरूद्ध पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरी जातीय विभेद कसुर सजाय ऐन अन्तरगत सोही दिन दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।
पीडितलाई आरोपित विष्टद्वयले पुस १८ गते घरमा काम गर्न नआएको भन्दै सार्वजनिक बाटोमा डुम, कमारा जस्ता विभेदित शब्द बोल्दै लठ्ठी र मुक्काले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
कुटपिटबाट डिल्लीको दाँत समेत भाँचिएको छ । टाउको, छाति आँखा र मुखमा चोट लागेका घाइतेको उपचार जिल्ला अस्पताल कालिकोटमा गरिएको थियो ।
घटनाका विषयमा पीडितले पुस २३ गते जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
“म माथि जातीय विभेद भयो । अहिलेको जमानमा पनि कमारा भन्दै कुटपिट गर्नेलाई कानुनी कारबाहीका लागि माग गर्दछु ।”-पत्रकार सम्मेलनमा पीडितले भने ।
डिएसपी शर्माका अनुसार जातीय विभेद कसुर सजाय ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रकृया अघि बढाइएको छ ।
जातीय विभेद कसुर ऐन २०६८ अनुसार कसुर ठहर भएमा तीन वर्षकैद सजाय र २५ हजार जरिवाना हुन्छ ।