INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश सभा सुचारु हुन नसक्दा सार्वजनिक महत्वका विधेयकहरु पारित हुन सकेनन्

सुदूरपश्चिम प्रदेश सभाको बैठक लामो समयदेखि बस्न नसक्दा दर्ता भएका पाँच ओटा विधेयक प्रदेश सभामा विचाराधिन अवस्थामा रहेका छन् ।

बेथिति र भ्रष्टाचार विरुद्ध भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा प्रदेश सभा भवनमा  आगजनी र तोडफोड गरी क्षति पुगाएपछि प्रदेश सभा संञ्चालन हुन नसक्दा दर्ता भएका विधेयकमाथि छलफल हुन नसकेको हो ।

विशेषाधिकार समितिका सभापती तुलसी देवकोटाले लामो समयदेखि प्रदेश सभाको बैठक बस्न नसकेर दर्ता भएको पाँच ओटा विधेयकमाथि छलफल हुन नसक्दा पारित हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो— ‘विषयगत समितिको बैठक बसेर छलफल भएता पनि प्रदेश सभामा टेबुल हुने विधेयकमाथि छलफल भएको छैन् । दलित सशक्तिकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाको बैठक बस्न नसकेर संशोधन हुन नसक्दा कार्यान्वयनमा समस्या भएको छ ।’

भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा प्रदेश सभा भवन, प्रदेश सभा सचिवालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालयहरु तोडफोड र आगजनीबाट क्षतिग्रष्त हुँदा बैठक बस्ने ठाउँ नभएर बैठक बस्न नसेको प्रदेश सभाका सभामुख भिमबहादुर भण्डारीले बताउनु भयो ।

उहाँले भन्नुभयो— ‘लामो समयदेखि प्रदेश सभाको बैठक बस्न नसकेर धेरै काम रोकिएका छन् । पाँच ओटा विधेयक प्रदेश सभामा विचाराधिन अवस्थामा रहेका छन् । प्रदेश सभाको वैठक सञ्चालन हुन नसक्दा समस्या भएको छ । तोडफोड र आगजनीबाट क्षति भएका भवनहरुको मर्मत सम्भार र उपकरणहरु जडानको काम भइरहेको छ । भवनको मर्मत, फर्निचर र उपकरण जडानको कार्य सक्ने बित्तिकै प्रदेश सभा सञ्चालनमा आउछ ।’

सुदूरपश्चिम प्रदेश सभा सञ्चालन हुन नसक्दा प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरण ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश बडघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक विचाराधिन अवस्थामा रहेका प्रदेश सभा सचिव देवबहादुर बोगटीले बताउनु भयो ।

मैनामाेती चाैधरी

अन्य

भिडियो